मंसिर ३०, काठमाण्डौ ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ बर्षको उमेरमा आइतबार राती सवा १० बजे उहाँको निधन भएको हो ।
अकस्मात बिरामी भएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ ।
निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । यद्यपी, उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।
उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । निर्माता तथा कलाकारसमेत रहनुभएका भट्टराइले ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गर्नुभएको थियो । भट्टराईले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् ।
उहाँले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गर्नुभएको थियो । उहाँले धेरैै चलचित्रमा अभिनय समेत गर्नुभएको थियो ।