मंसिर २८, काठमाडौं ।
सरकारसँग हाल कति युवा रोजगारीमा संलग्न छन् भन्ने तथ्याङक नै नरहेको पाईएको छ ।
चालु आर्थिक वर्षमा ५ लाख युवालाई रोजगारी दिने भनिएपनि कति युवा रोजगारमा संलग्न भए भन्ने यकिन तथ्याङक सरकारसँग समेत नभएको श्रम विभागले स्वीकार गरेको छ ।
विभागका महानिर्देशक सनत केसीले कति युवाले रोजगारी पाए भन्ने कुनै तथ्याङ्क विश्लेषण नगरेको जानकारी दिनुभयो ।
रोजगारीको कति अवसर सिर्जना भयो भन्ने तथ्याङ्क अहिले विभागसँग नभएको उहाँले स्वीकार गर्नुभयो । समग्र श्रम बजारको ७० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको नीजि क्षेत्रमा संमेत रोजगारी सम्वन्धी यकिन तथ्याङ्क छैन ।
करिब साढे २ लाखको हाराहारीमा रोजगारी सिर्जना हुने आंकलन भएपनि त्यसको यकिन तथ्याङ्क नभएको नेपाल उद्योग महासंघ अन्तर्गतको रोजगारदाता परिषदका सहसभापति भरत आचार्यले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका अनुसार श्रम बजारमा वार्षिक ५ लाख बेरोजगार थपिन्छन् । श्रम बजारमा प्रवेश गर्ने युवामध्ये धेरैजसो वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
सरकारले दुई वर्षयता युवाहरुलाई वैदेशिक रोजगारीमा जानुको साटो मुलुकभित्रै काम गर्न आग्रह गर्दै आएको छ तर श्रम बजारमा थपिने शिक्षित र अशिक्षित युवा कहाँ कति खपत भइरहेका छन् भन्ने तथ्यांक सरकारले संकलन गर्न सकेको छैन ।