धनुषा, २८ मंसिर । धनुषामा महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा ४६ वर्षका राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।
विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका इन्सपेक्टर दाहाललाई आज बिहान ६ बजेर ४० मिनेटमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो । निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
शंकास्पद वस्तु रहेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । तर प्रहरी प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको धनुषाका प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिनुभयो ।
विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए ।
कोखामा छर्रा लागेर घाइते दाहाललाई बीपी स्वास्थ्य प्रतिस्ठान धरान ल्याउँदै गर्दा मृत्यु भएको हो । भने अन्य तीन जनाको धरानमै उपचार भइरहेको छ । घटनामा अन्य दुई जना सामान्य घाइते भएको बताइएको छ ।
निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका घरमुली साह ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरूको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ ।