मंसिर २८, जनकपुर ।
धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जना सहित तीन जनाको मृत्यु भएको छ ।
कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा घरधनी राजेश साह, उनका छोरा आनन्द साह र प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको मृत्यु भएको हो । घटनामा ३ जना घाइते भएका छन् ।
साह बाबु छोराको घटनास्थलमै र कोखामा छर्रा लागेर गम्भीर घाइते भएका इन्सपेक्टर दाहालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिनुभयो । दाहाललाई आज बिहान ६ बजेर ४० मिनेटमा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।
निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो ।
त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको प्रहरीले जनाएको छ । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।
घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार भईरहेको छ ।