मंसिर २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेकोले आज पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात हुने जनाएको हो। महाशाखाले आज मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेसमेत जनाएको छ।
यस्तै पश्चिमी भूभागका केही स्थानमा हावाहुरी आउनेसमेत सम्भावना छ । महाशाखाले बुलेटिनमा पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
शनिबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ।
विभागले मौसम बदली भएको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएकाले देशभर चिसो बढेको उल्लेख गरेको छ। पूर्वी तराईमा सामान्य कुहिरो र हुस्सु लागे पनि आगामी २४ घण्टासम्म शीतलहरको सम्भावना नरहेको जनाएको छ।