काठमाडौं, मंसिर २६ ।
पूर्वप्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–२ का सांसद तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चाबहिल–साँखु सडकखन्डको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।
चाबहिल–साँखु सडकको आज निरीक्षण गर्दै वरिष्ठ नेता नेपालले विस्तारित सडकको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्ने बताउनु भएको हो । विस्तारित सडकको काम चित्तबुझ्दो नभएको भन्दै उहाले खाल्डाखुल्डी पुर्न र गुणस्तरीय पिच गर्नुपर्ने बताउनु भएको छ ।
सत्तारुढ दल नेकपाका नेतासमेत रहेका उहाले कानुनी र आर्थिक समस्या भए आफूले सामधान गर्ने भन्दै अन्य समस्या देखाएर काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको स्पस्ट पार्नुभएको छ । बिजुलीका पोल हटाउन, वनसँग जोडिएका समस्या समाधान गर्न स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले काममा गति नदिए दन्डित गर्ने चेतावनी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ्सहित नेता नेपाल सडक निरीक्षणमा गर्नुभएको थियो । चाबहिल–साँखु सडक निर्माणमा मुआब्जा नपाएको भन्दै स्थानीयले सडक विस्तारको विरोध गर्दै आएका छन् । सर्वोच्च अदालतले पीडितलाई मुआब्जा दिएर सडक विस्तार गर्न आदेश दिएपनि कार्यान्वयनमा आउन नसक्दा स्थानीयले विरोध गरेका हुन् ।