२४ मंसिर, काठमाडौं । काठमाडौंमा चल्ने सवारी साधनमा आज जोरविजोर प्रणाली लागू गरिएको छ ।
सागको आज हुने समापन समारोहलाई मध्य नजर गर्दै काठमाडौ उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको छ । ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले जोर नम्बरका मात्र गाडी चलाउन पाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
महाशाखाका अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ । ट्राफिकले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेशमा पनि रोक लगाएको छ । साथै कम भन्दा कम सवारी साधन निकाल्न पनि अनुरोध गरेको छ ।सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले आज सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
महाशाखाले एक सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालवाहक सवारी साधन रिङ्रोडभित्र प्रवेश नगरिदिन चालकलाई अनुरोधसमेत गरेको छ ।
महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ ।
सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ । खेल हेर्न आउने सबैका लागि पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्न भनिएको छ । यस्तै आज खेल हेर्न टिकट काटेका दर्शकलाई मूलगेट प्रवेश नगरी आर्मी अफिसर्स क्लबको गेटबाट प्रवेश गर्न आग्रह गरिएको छ ।