मंसीर २३ काठमाण्डौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको स्वर्णका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ ।
पोखरा रंगशालामा आज हुने फाईनलमा साफ् च्याम्पियनसिपको फाईनलमा भोगेको पराजयको बदला सहित स्वर्ण हात पार्ने दाउमा नेपाली टिम हुने छ ।
सोमबारको खेलमा नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिएर स्वर्णपदक जित्दै इतिहास रच्ने दाउमा रहनेछ नेपाली टिम । अन्तरराष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा भएको गल्तीलाई सुधार गर्दै स्वर्ण पदकका लागि स्पर्धामा उत्रिने बताए ।
भारतीय प्रशिक्षक मेयामोल रकी नेपालले सधँै आफ्नो टोलीमाथि दबाब सिर्जना गर्ने गरेको बताउँदै फाइनलमा आक्रामक फुटबल खेल्दै स्वर्ण जित्ने लक्ष्य रहेको बताए ।
जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो । भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल र भारत हालसम्म अन्तरराष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन् । नेपालसँगको सबै स्पर्धामा भारत हाबी हुँदै आए पनि नेपाली टोलीले उनीहरुलाई कडा टक्कर दिँदै आएको छ ।
महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ । गत वर्ष भारतमै आयोजना भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले पराजित गरेको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागमा समेत यी दुई टोली फाइनलमा स्पर्धा गरेका थिए । त्यसमा नेपाल ४–० ले पराजित भएको थियो । पाकिस्तानको इस्लामावादमा सन् २०१४ मा भएको चौथो साफ च्याम्पियसीपको फाइनलमा नेपाल भारतसँग ६–० गोल अन्तरले पराजित भएको थियो । गत वर्ष विराटनगरमा सम्पन्न पाँचौँ संस्करणको साफ च्याम्पियनसीपको फाइनलमा समेत नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।