२२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ ।
प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।
स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार बिहान करिब साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा चन्दलाई ठक्कर दिएको थियो । विद्यार्थीलाई ठक्कर दिएपछि आक्रोशित भएका विद्यार्थीले ट्रकमा आगजनी गरेका छन् ।
ठूलो संख्यामा उपस्थित भएका विद्यार्थीले ट्रकमा आगजनी गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन दर्जनौं हवाई फायर गरेको बताइएको छ । प्रहरीले चालकलाई आफ्नो नियन्त्रणमा लिईसकेको जनाएको छ ।