पोखरा, २२ मंसिर ।
सरकारी सम्पत्ति व्यक्तिका नाममा सारिएको अर्को भद्दा उदाहरण हो पोखराको फेवाताल अतिक्रमण । वि.सं. ०१४ को सर्भेअनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले नौ हजार नौ सय ५५ रोपनी जग्गा मात्रै छ ।
नौ हजार ३५ रोपनी जग्गा अभिलेखबाटै गायब भएको छ । अभिलेखमा भएको २२ सय ३२ रोपनी जग्गा अतिक्रमण भएको छ । जसमध्ये १६ सय ९२ रोपनी जग्गा पानीमुनि छ । यसरी पानीमुनि भएको ६७३ कित्ता जग्गाको लालपुर्जा लिएर व्यक्तिहरू बसेका छन् ।
जग्गा फिर्ता लिन सरकारले गरेको पहलभन्दा अतिक्रमणकारीको अवरोध बलियो छ । त्यसैले फेवाताल बेसहारा भएको छ । सन् १९५७ अर्थात् वि.सं. ०१४ मा सर्भे अफ इन्डियाले फेवातालको नाप लिएर नक्सा बनाएको थियो । जसअनुसार फेवातालको क्षेत्रफल २२ हजार रोपनी थियो । त्यस्तै, इटालियन सर्भेयरले नाप्दा पनि तालको क्षेत्रफल यति नै थियो ।
भारतको सहयोगमा ०१७ सालमा निर्मित पार्दी बाँध ०३१ सालमा फुट्यो र फेवाको आधाभन्दा धेरै पानी बगेर गयो । कतिसम्म भने बाराही मन्दिर पनि हिँडेरै आवतजावत गर्न सक्ने अवस्था बन्यो । बाराही जाने बाटोमा कतिपय मान्छेले गाडी पार्किङ गर्थे भने बालबालिका कबड्डी खेल्थे ।
त्यही मौकामा पहुँचवालाले जग्गा कब्जा गर्न थाले । ०३३र३४ मा नापी हुँदा उनीहरूले जग्गा दर्ता पनि गराए । यसरी फेवाको १६९२ रोपनी जग्गा अतिक्रमण गरेर ६७३ कित्तामा व्यक्तिका नाममा लालपूर्जा बन्यो ।
तर, युएनडिपीको सहयोगमा ०४१ सालमा बाँध पुनर्निर्माण भएपछि तालमा फेरि पानी भरियो र अतिक्रमण भएको जग्गा डुब्यो । फेवाताल आफ्नो सतहमा फर्कियो तर सरकारले आफ्नो दायित्व पूरा नगर्दा यो सम्पूर्ण जग्गा अहिलेसम्म व्यक्तिका नाममा छ ।
फेवाताल अतिक्रमण छानबिन आयोगका संयोजक विश्वप्रकाश लामिछानेले यही क्रम रहे ७५ देखि सय वर्षमा फेवा लोप हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ०१७ सालतिर सर्भे अफ इन्डिया र इटालियनले निकालेको फेवातालको नक्सा छ । त्यो नक्साअनुसार फेवातालको क्षेत्रफल २२ हजार रोपनी छ । त्यतिवेला इन्डियाले बाँध बनाउन सर्भे गरेको रहेछ । ०१७ मा इन्डियाले बनाएको बाँध ०३१ मा फुटेपछि आधा पानी बगेर गयो । तालको पानी सुकेर बगर भएको थियो । त्यहीवेला धमाधम अतिक्रमण भयो । पानी सुकेकै वेला नेपाल सरकारले ०३४ मा नापी गरायो । तालको जग्गा व्यक्तिले आफ्नो नाममा लगे । ०३८ मा पुनः बाँध बनाउन सुरु भयो, ०४२ मा तयार भयो । पानीले आफ्नो पुरानै सतह लियो । यसरी ०३४ मा व्यक्तिले निजी बनाएको जग्गा पानीमुनि पर्यो । अहिले पनि फेवातालको पानीमुनिको जग्गाको लालपुर्जा मान्छेको हातमा छ । तर, ०३४ सालपछि पनि निरन्तर जग्गा मिचियो । मान्छेले अतिक्रमण गरेका छन्, बाढीले पुर्दै छ यहि अवस्था रहे ७५ देखि सय वर्षमा फेवा लोप हुनेछ ।
नयाँ पत्रिका दैनिकबाट