काठमाडौं, १९ मंसिर ।
नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमको गरि मनाईदैछ ।
स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले उहाँको सम्झनामा विभिन्न कार्यक्रम गर्दैछ । संगीत आकाशका धरोहर नारायण गोपालको २९ वर्ष अघि निधन भएको थियो । नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल नारायणगोपाल नेपाली जनजनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ ।
बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँको १९९६ असोज १८ गते काठमाण्डौमा जन्म भएको थियो । उहाँको २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो ।
‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन छ’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चोखो यति मीठो’, ‘तिमीलाई म के भनु’ लगायतका दर्जनौँ कर्णप्रिय गीतहरु नारायण गोपालले गाउनुभएको छ ।
उहाँका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदियो । उहाँका गीत आजपनि उतिकै लोकप्रिय छन् ।