के हो भुँवा खेल ?

के हो भुँवा खेल ?

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 21K
    SHARES

डोटी, १७ मङ्सिर ।

सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोस्रो ठूलो खेल ९नाच० भुँवाखेल सोमबार यहाँ पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करीब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठ प्रकारसम्म भुवाँखेल खेलिन्छ । सैनिकले तालीमस्वरुप पनि यो खेल खेल्ने गर्छन् । युद्ध मैदानमा दुश्मनसँग कसरी लड्ने र विजय हासिल गर्ने भन्ने कला पनि उक्त नाचमा देखाइने गरेको स्थानीयवासी तथा नेपाली काङ्ग्रेसका नेता विजय खड्काले बताउनुभयो । “पुरानो युद्धकला जगेर्ना गर्ने उद्देश्यले यो नाच खेलिन्छ”, उहाँले भन्नुभयो, “युद्धमा आफू कसरी बच्ने र दुश्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनक नै अर्कै हुन्छ ।”

हातहातमा नाङ्गो तरबार बोकी खेलाडीले पुरानो राजाको पालाका पोशाक पहिरिएर पङ्क्तिबद्ध तरिकाले यो खेल खेल्ने गर्छन् । विजयादशमीको दिन जिल्ला सदरमुकाम सिलगढीको कालढुङ्गा भन्ने ठाउँमा उराउ बाजा बजाएपछि यो खेल शुरु हुने भए पनि यहाँका स्थानीयवासीले मङ्सिरको तेस्रो सातामा मात्र उक्त खेलको शुरुआत गर्ने गरेको स्थानीयवासी दीपकबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “उराउ बाजा बजाएपछि खेल हुनेबारे निश्चित हुन्छ, तर स्थानीयवासीको खेतीपातीको काम सकिएपछि मात्रै यो खेल सञ्चालन हुन्छ ।”

भुँवाखेल डोटीलगायत यहाँका पहाडी जिल्ला बाजुरा, अछाम तथा बझाङमा समेत खेल्ने गरिन्छ । दिनमा नाङ्गो तरबारले भुँवा खेल्ने तथा राति सुदूरपश्चिमेली डेउडा तथा प्राचीन राजारजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन् । नाच अवधिमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्वराणाकालीन दरबार डोटी गौँडामा समेत यो खेल देखाई छैटाँै दिनमा कालढुङ्गामा नै गएर विसर्जन हुने गरेको दिपायलका गणेश भण्डारीले बताउनुभयो ।

यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो । यसमा दुई खेलाडीले हातमा नाङ्गो तरबार समाती नाच्दानाच्दै एकार्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्छन् । भुँवा डेउडामा सबै खेलाडी सामेल हुने भए पनि ‘घाँ’ खेलमा भने सबैलाई समावेश गरिँदैन । यस खेलमा चोटपटक लाग्न सक्ने भएकाले पोख्तलाई मात्रै खेल्न दिने नियम रहेको ‘घाँ’ खेलका सिपालु स्थानीयवासी डम्बरबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घाँ’ खेल अलि खतरनाक भएकाले हामी सबैलाई उक्त खेलमा समावेश गर्दैनौँ, पोख्त र युवालाई खेल्न दिन्छौँ ।” डोटीमा हुने भाँवा नाच हेर्न छिमेकी डडेल्धुराका बासिन्दा पनि आउने गर्छन् । जिल्ला बाहिर तथा ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न आउने भएकाले उक्त खेल झन् रोचक तथा रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ