मंसिर १७, काठमाडौं ।
१३ औं दक्षिण एशियाली खेलकुद साग पुरुष फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ।
नेपाल पहिलो खेल खेल्न लागेको हो भने भुटानले हिजो बंगलादेशलाई हराउँदै ३ अंक जोडिसकेको छ । आजै साँझ ५ बजे दशरथ रंगशालामा माल्दिभ्स र बंगलादेशबीच अर्को खेल हुनेछ।
पोखरा रंगशालामा हुने महिला फुटबलमा नेपालले विहान १० बजे श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ। दिउँसो अर्को खेलमा भारत र माल्दिभ्स भिड्दैछन्।
आज भलिबलका खेलहरु सकिनेछन्। महिला भलिबलको फाइनलमा नेपाल र भारतबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुनेछ।
पुरुष भलिबलमा दिउँसो ४ बजे भारत र पाकिस्तान स्वर्ण पदकका लागि भिड्नेछन्।
पुरुष टि ट्वेन्टी क्रिकेटमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। खेल त्रिवी क्रिकेट मैदान किर्तिपुरमा विहान ११ बजे हुनेछ।
पोखरामा भइरहेको महिला क्रिकेटमा श्रीलंका र बंगलादेश भिड्नेछन्। नेपालले थप पदकको आशा गरेको करातेमा ६ खेल हुनेछन् । खेल विहान ९ बजेदेखि नेपाल कराते एकेडेमीको कभर्डहलमा सुरु हुनेछ।
तेक्वान्दोमा आज ४ स्वर्णपदकको टुंगो लाग्नेछ। उसुमा महिला र पुरुष चाङक्वानको दुई वटा स्वर्ण पदकको छिनोफानो हुनेछ। एथलेटिक्सतर्फ विभिन्न ९ वटा प्रतिष्पर्धा हुँदैछन्।
आजै खोखो, ब्याडमिन्टन, गल्फलगायतका खेल पनि आज हुँदैछन्।
पहिलो दिन नेपाल १५ स्वर्ण ३ रजत र ६ कास्य पदकसहित कूल २४ पदक जितेर पहिलो स्थानमा रहेको छ। ३ स्वर्ण ८ रजत र ३ कास्यसहित १४ पदक जितेको भारत दोस्रो र ३ स्वर्ण ७ रजत र १४ कास्यसहित २४ पदक जितेको श्रीलंका तेस्रो स्थानमा रहेका छन्।