काठमाडौ, मंसिर १३ ।
विदेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर आज स्वदेश फर्कनु भएको छ । उहाँ आज बिहान करिब १० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आइपुग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले आफू भ्रमण छोट्याएर स्वदेश फर्किएको जानकारी दिनु भएको हो । पर्सीसम्म रहेको भ्रमण तालिका छोट्याउदै आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम भए पनि देशको विकसित परिस्थितिले भ्रमण छोट्याएर आएको जानकारी दिनुभयो ।
उहाँले परिस्थितिबारे भने स्पष्ट खुलाउनु भएन । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार उहाँ रुसको राजधानी मस्को प्रस्थान गर्नु भएको थियो । रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको पनि उहाँले जानकारी गराउनुभयो ।
यसैगरी रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा संवादमा आउन निम्तो दिइएको उल्लेख गर्नुभयो ।