खाताबाट रकम चोरी प्रकरणमा १९ बैंकका सञ्चालक, सीईओ र कर्मचारीमाथि अनुसन्धान, यी हुन् अनुसन्धानमा परेका बैंक/फाइनान्स

खाताबाट रकम चोरी प्रकरणमा १९ बैंकका सञ्चालक, सीईओ र कर्मचारीमाथि अनुसन्धान, यी हुन् अनुसन्धानमा परेका बैंक/फाइनान्स

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडाैं, १३ मंसिर ।

बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले १९ वटा बैंक/फाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा वाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो ।

गिरोहले मंसिर ८ गते जनता बैंकबाट १९ लाख ९९ हजार र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ अनधिकृत भुक्तानी लिएका थिए । केही कर्मचारी र सञ्चालकको संलग्नता पुष्टि गर्ने क्रममा रहेकाले कसैको पनि नाम सार्वजनिक नगरिएको जानकारी प्रहरीले दिएको छ । काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुसन्धान दायरामा परेका सञ्चालक र कर्मचारीमाथि सादा पोसाकका प्रहरी खटाएर निगरानी थालिएको बताए । प्रहरीले राष्ट्र बैंकसँगको समन्वयमा बैंकका सञ्चालक र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो ।

‘सर्वसाधारणको गोप्य खाता कर्मचारी र सञ्चालकको मिलेमतोबिना गिरोहको पहुँचसम्म पुग्नै सक्दैन, यस विषयमा हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ डीएसपी बोगटीले कान्तिपुरसँग भने, ‘पक्राउ परेका व्यक्तिका साथबाट बरामद कागजात तथा अन्य तथ्य र प्रमाणका आधारमा १९ बैंक/वित्तीय संस्थाका सञ्चालक र कर्मचारी अनुसन्धान दायरामा छन् ।’

प्रहरीले बैंकको रकम चोरीमा संलग्नबाट सेञ्चुरी बैंक, आईसीएफसी फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डु, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक र युनाइटेड फाइनान्सका गोप्य कागजात बरामद गरेको छ । त्यस्तै एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकका एटीएम, चेकबुक, खाता खोल्न प्रयोग गरिने कागजात, २ हजारभन्दा बढी व्यक्तिका नागरिकताको फोटोकपी, ६ सयभन्दा बढी व्यक्तिका बैंक खाताको हस्ताक्षर बरामद गरिएको प्रहरीले जनाएको छ ।

छानबिनमा परेका बैंकबाट सीसीटीभी फुटेज उपलब्ध गराउनसमेत प्रहरीले पत्र पठाइसकेको छ । राष्ट्र बैंकले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रहरीलाई आग्रह गरेको छ । ‘गोप्य विवरणसम्म पहुँच बनाएर गिरोहले बैंकबाट रकम अनधिकृत रूपमा झिक्नु गम्भीर अपराध हो, यसमा जुनसुकै ओहदाका कर्मचारी वा सञ्चालक भए पनि अनुसन्धान दायरामा पर्छन्,’ डीएसपी बोगटीले भने, ‘राष्ट्र बैंकले पनि बैंकका महत्त्वपूर्ण कागजात कसका कारणले बाहिरियो भन्नेबारे सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ, हामी यसबारे छिट्टै एउटा निष्कर्षमा पुग्छौं ।’ प्रहरीले अनुसन्धान दायरामा परेका बैंकबाट नगद कारोबार विवरण (बैंक स्टेटमेन्ट) समेत झिकाइसकिएको जनाएको छ ।

अनुसन्धानमा परेका बैंक/फाइनान्स

– सेञ्चुरी बैंक

– आईसीएफसी फाइनान्स

– लक्ष्मी बैंक

– मञ्जुश्री फाइनान्स

– ज्योति विकास बैंक

– सिद्धार्थ बैंक

– सानिमा बैंक

– जनता बैंक

– एनआईसी एसिया बैंक

– सिभिल बैंक

– बैंक अफ काठमान्डु

– गोर्खाज फाइनान्स

– कैलाश विकास बैंक

– युनाइटेड फाइनान्स

– एनसीसी बैंक

– एभरेस्ट बैंक

– प्रभु बैंक

– माछापुच्छ्रे बैंक

– मुक्तिनाथ विकास बैंक
कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ