कास्की, १२ मङ्सिर । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा पोखरामा आउने विदेशी मुलुकका पाहुनालाई यहाँका कलाकारले निर्माण गरेका आकर्षक चित्रकला उपहार दिएर स्वागत गरिने भएको छ । सागमा सहभागि विभिन्न देशका खेलाडी, अफिसियल तथा पाहुनाको फरक÷फरक भाषा तथा संस्कृति रहने र कलाकृति संसारका जुनसुकै व्यक्तिले बुझ्न सक्ने ‘अन्तर्राष्ट्रिय भाषा’ भएकाले त्यसका माध्यमबाट न्यानो आतिथ्यता प्रदान गर्ने आयोजकको तयारी छ ।
साग अतिथि स्वागत तथा सत्कार उपसमितिले ‘खेलकूदका लागि कला’ भन्ने नारा सन्देशसहित आज पोखरामा आयोजना गरेको ‘कला कार्यशाला’बाट कलाकारले सिर्जना गरेका चित्रकलालाई स्वागत सत्कारमा प्रयोग गर्ने भएको छ । वरिष्ठ कलाकारले सिर्जना गर्ने सुन्दर चित्रकलाले पाहुनालाई स्वागत गरी उपहार प्रदान गर्दा छुट्टै सन्देश दिने र नेपालको प्रकृति, संस्कृति र खेलकूदलाई उजागार गर्दै आआफ्नो देशमा लैजाने उपसमितिका सहसंयोजक रामचन्द्र थापाले बताउनुभयो ।
कार्यशालामा वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेल, रमेश श्रेष्ठ, आलोक गुरुङ, थमनसिंह सनार, आकास गुरुङ, सुमन गुरुङ, गोपाल दराई, निशान थापामगर, देवेन्द्र गुरुङ, अलिता गुरुङ, ज्योति गुरुङ, किरण रञ्जीत, रिप गुरुङ, मनोज तामाङ, लक्ष्मण परियार, विश्व केसी, सुधीर श्रेष्ठ, युकेश सुनार, कमल गुरुङ र महादेव शाहीले कोर्ने २० भन्दा बढी चित्रकलाबाट पाहुनाको स्वागत गरी पोखराको प्रकृति, संस्कृति, जीवनशैलीलाई अन्तरराष्ट्रियकरण गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाली खेलकूदमा कलाले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दै खेलसमेत नियमबद्ध कला भएको उल्लेख गर्नुभयो । चित्रकलाका माध्यबाट प्रदेशका प्राकृतिक गहना तथा सुन्दरतालाई विश्वस्तरमा पु¥याउन मद्दत पुग्ने भनाइ मन्त्री गुरुङको छ । सागअन्तर्गत यहाँ खेलाइने विभिन्न आठ खेलका लागि खेलाडी तथा अफिसियल गरी ८४० सहभागिता रहने बताइन्छ ।
साग खेलको टिकट अनलाइनबाटै
नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ ।
दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरीद गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
दर्शकले कबन।भकभधब।अयm।लउ मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरीद गर्न सक्नेछन् । टिकट खरीद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाइल नम्बर र युनिक क्युआर कोड रहनेछ । दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट ‘रियल टाइम’ मै ‘भेरिफाइ’ हुने र परिचयपत्र देखाएपछि दर्शकले प्रवेश पाउने छन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने जनाइएको छ ।
यस्तै यसपटक फुटबल प्रतियोगितामा सिट नम्बरसहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाइलबाट टिकट खरीद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिले नजिकैको साइबर, स्टेशनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गई अनलाइन टिकट खरीद गर्न सकिनेछ ।
यसअघि पनि इसेवाले आइसिसी, एन्फाअन्तरगत विभिन्न अन्तर्राष्ट्रिय खेलको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । सन् २००९ बाट सञ्चालन रहेको इसेवाको २५ लाख ग्राहक रहेको विज्ञप्तिमा उल्लेख छ ।