काठमाडौँ, १२ मङ्सिर ।
नेपाल हस्तकला महासङ्घको आयोजनामा आजदेखि भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदैछ ।
हस्तकलाका उद्यमीबाट उत्पादित सामानको आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ ।
मेलामा हस्तकला प्रतियोगिता पनि हुने तथा उत्कृष्ट कक्ष तथा प्याभिलियन प्रतियोगिता हुने कार्यक्रम रहेको महासङ्घले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा यही मङ्सिर १६ गतेसम्म मेला आयोजना हुँदैछ ।
मेलाले नेपाली उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताकाबीचमा व्यावसायिक सम्बन्ध विकास गर्न सहयोग पुग्ने महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताउनुभयो ।
धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु प्रदर्शनीको आकर्षण रहनेछ ।
महासङ्घका अनुसार नेपाली हस्तकला वस्तुको आन्तरिक बजारमा करीब रु १० अर्ब बराबरको वार्षिक खरीद बिक्री भइरहेको छ ।
त्यस्तै नेपाली हस्तकलाको व्यापार रु १० अर्बभन्दा माथिको सामान तेस्रो मुलुकसहित विश्वका ८० भन्दाबढी मुलुकमा निर्यात हुनेगरेको छ ।
नेपालमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएको छ । यसले देशव्यापीरूपमा ११ लाख मानिसलाई रोजगारी दिइरहेको छ ।
मेलामा आठ वटा प्याभिलियनसहित करीब २०० कक्ष रहनेछ । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश आदि अन्तर्राष्ट्रिय व्यापारीको २० कक्ष रहनेछन् ।
मेलामा प्याभिलियनमार्फत नेपाल हातेकागज सङ्घ, स्वच्छ व्यवसायी समूह नेपाल आदिको सहभागिता रहनेछ । ती कक्षमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा तथा बाँसका सामान रहने बताइएको छ ।
महासङ्घका अनुसार ७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रममा १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सगुन दिई चाँदीको ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम छ । महासङ्घको कला तथा शिल्प परिषद् र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा प्रदर्शनीस्थल भृकुटीमण्डपमा ५० जना उत्कृष्ट कलाकारको कलाकृति प्रदर्शनी गरिनेछ ।