महोत्तरी, १२ मङ्सिर ।
रामजानकी विवाह महोत्सवका लागि भारतको अयोध्याबाट ंआएका जन्ती आज साँझ जनकपुरधाम पुग्नेछ ।
आज बिहान मटिहानीबाट जन्तीको लावालस्कर जिल्ला सदरमुकाम जलेश्वरस्थित श्री जलेश्वरनाथको दर्शन गर्दै साँझ जनकपुरधाम पुग्ने लक्ष्मीनारायण मठका उत्तराधिकारी मानमहन्थ रवीन्द्रदास वैष्णबले बताउनु भयो ।
भारतबाट आएका जन्ति हिजो साझ मटिहानीमै बास बसेका थिए । मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेपछि जिल्लाकै पिपरा गाउँपालिकाको चाँदनीचोकमा दिवा खाना खुवाएर विश्राम गराई जन्तीलाई जनकपुरतर्फ बिदा गर्ने चलन रहे पनि यसपालि भने उपनिर्वाचनका कारण जन्ती सोझै जनकपुर पुग्नेछन् ।
जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मङ्गलबार नै शुरु भएको छ । पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभङ्ग, चौथो दिन मटकोर, पाँचौँ दिन तिलकोत्सव, छैठौँ दिन स्वयम्वर र वैवाहिक कार्यक्रम र सातौँ दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न गरिने चलन छ । महोत्तरी नाकाबाट प्रवेश गरेका जन्तीलाई विवाहपश्चात् रामकलेवा विधि सम्पन्न गरेर वीरगञ्ज नाकाबाट अयोध्याका लागि बस्त्र आभूषणसहित बिदाइ गरिने जानकी मन्दिर प्रशासनले जनाएको छ ।