११ मंसिर, काठमाडौं । अर्घाखाँचीकाे सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएकाे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बुधबार बेलुका भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।
दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। अहिलेसम्म १७ जना को मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिए।
प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेकाे हाे ।
घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको । अन्य मृतक र घाइतेको भने समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारका लागि खटिएको छ ।