काठमाडौं, मंसिर ११ ।
नेपाल पत्रकार महासंघले विगत १५ महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्ससहित अस्थिपञ्जर भेटिएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानसँगै अस्थिपञ्जर भेटिएको जानकारी दिनु भएको हो ।
१५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा अस्थिपञ्जरसहित सामग्री भेटिनुले घटना रहस्यमय भएको भन्दै महासंघले सत्यतथ्य छानविन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गरेको छ ।
महासंंघले विज्ञप्ती मार्फत रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन राज्यका सम्बन्धित निकायसँग आग्रह गरेको छ । ०७५ साल भाद्र १० गतेदेखि बेपत्ता भएका खड्का नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य हुन् ।
करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।