काठमाडैं, मंसिर ८ ।
काठमाडौं, धादिङ र चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पृथ्वीराजमामार्गस्थित धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन ।
जन्ति बोकेर नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना हुँदा नुवाकोट बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।
गम्भिर घाईतेलाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर ल्याईएको प्रहरीले जनाएको छ । अन्य घाईतेको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको छ ।
उता, चितवनमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ दास ढुङ्गामा जुगेडिबाट हेटौंडा तर्फ गैरहेको ना ६ ख १८९६ नम्बरको ट्रकले आज बिहान पौने ६ बजेतीर सडकमा हिडिरहेका एक पुरुषलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतकको शब भरतपुर अस्पतालको शब गृहमा रहेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमासवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।संसद भवनको दक्षिण गेट अगाडि एक जना पुरुषको सवारी साधनको ठक्करबाट मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन भने ठक्कर दिने सवारी पनि फरार रहेको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।
आज बिहान अन्दाजी ६ बजेतिर उक्त दुर्घटना भएको र ठक्कर दिने गाडी भागेको प्रहरीको भनाइ छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।