८ मंसिर, काठमाडौं । बालाचतुर्दशी अन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज भने बेलुकीदेखि मनाइँदैछ ।
हरेक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउछन् ।
आज साँझ दीपदान गरी भोली बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइदैछ । दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा भक्तजनहरु पुग्नेक्रम जारी छ ।
प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्छ ।
त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् ।
पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश र्पुयाउन अनुरोध गर्ने प्रचलन छ ।
शतबीजमा हाल धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने बताउनु भयो ।
भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।
माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताउनु भयो ।
शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।