काठमाडौं, ७ मंसिर ।
नेपाली भूभाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिम प्रदेशभर कालापानी अभियान सञ्चालन गर्ने भएको छ । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय सम्राज्यवादी सेना फिर्ता गर, भारतीय जाली नक्सा खारेज गर’ भन्ने मूल नाराका साथ पार्टीले मंसिर ११ गतेदेखि १७ गतेसम्म सप्ताहव्यापी अभियान सञ्चालन गर्ने भएको हो ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले राष्ट्रियताको मुद्दालाई अन्तर्रा्ष्ट्रियकरण गर्न जनस्तरबाटै राज्यलाई दबाब सिर्जनाको लागि अभियान सञ्चालन गर्न गइरहेको बताउनु भएको हो । उहाले कालापानी क्षेत्र कब्जा गरी बसेको भारतीय सेनालाई फिर्ता पठाएर अतिक्रमित भूभाग फिर्ता गराउने उदेश्यका साथ अभियानको थालनी गरेको उल्लेख र्गुभएको छ ।
अभियान अन्तर्गत विभिन्न जिल्लाहरुमा पर्चा वितरण, भेटघाट, कोण सभा, जुलुस तथा आमसभा गर्ने सो पार्टीले जनाएको छ । कैलालीको धनगढीबाट शुरू हुने अभियान अन्तर्गत पार्टीले अत्तरिया चौक, बुडर बजार डोटी, बसपार्क डडेल्धुरा, पाटन बैतडी, खलंगा दार्चुला, गोकुलेश्वर दार्चुला, गोठालापानी बैतडी, दिपायल डोटी र महेन्द्रनगर कञ्चनपुरमा विरोधसभा गर्ने जनाइएको छ ।
अभियान अन्तर्गत मंसिर १७ गते महेन्द्रनगरमा हुने समापन तथा विरोध सभामा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनमोर्चाले जनाएको छ ।