युवाविहीन बन्दै सुदूरपश्चिमका गाउँः मलामी जाने मान्छे पाउनै मुस्किल

युवाविहीन बन्दै सुदूरपश्चिमका गाउँः मलामी जाने मान्छे पाउनै मुस्किल

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

डोटी, ७ मंसिर । नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् ।

दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न शुरु गरिसकेका छन् ।

उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल हुन छाडेको डोटीको जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल रावतले बताए । उनले भने, “परदेश गएका चाडबाडमा घर आएका कारण गाउँमा रमाइलो थियो, अहिले उनीहरु फर्किन थालेपछि यहाँका गाउँघर प्रायः सुनसान हुन थालेका छन् ।”

पढ्न शहर छिरेका र जिल्ला बाहिर जागीर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका हुन् । आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि जिल्लामा सञ्चालन हुने सवारीसाधनमा समेत चाप बढेको शैलेश्वरी यातायातका रुटपरमिट इञ्चार्ज प्रेम रावलले बताए ।

उनले भने, “शुक्रबार जिल्ला बाहिर फर्किनेका कारण यातयातका साधन भरिभराउ हुन थालेका छन्, हामीसँग पर्याप्त सवारीसाधन नहुँदा केही समस्या हुँदै आएको छ ।” जिल्ला बाहिर फर्किनेको सङ्ख्या बढी हुन थालेपछि अहिले डोटीबाट बाहिरी जिल्लाका लागि गाडी पाउन सकस हुने गरेको यात्रु बताउँछन् ।

दशैँ र तिहारमा रमाइलो रहेका सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा विस्तारै रौनक हराउन थालेको दिपायलका स्थानीय तथा सुदूरपश्चिम बस व्यवसायी समिति डोटीका प्रमुख दुर्गा पन्तले बताए ।

उनले भने, “घर फर्किएका स्थानीय गाउँ छोड्न थालेका छन्, यहाँका गाँउमा बालबालिका र वृद्धवृद्धामात्र हुने भए ।” यहाँका गाउँघरमा पढ्न बजार छिरेका तथा रोजगारीका लागि जिल्ला बाहिर गएका स्थानीय प्रायः वर्षको एक पटक दशैँ तिहारको बेला मात्रै गाउँघर आउने गर्दछन् ।

दशैँका बेला सुनसान देखिएका यहाँका पहाडी जिल्लाका सदरमुकाममा भने अहिले चहलपहल शुरु भए भएको छ । दशैं र तिहार गाउँमात्र होइन सदरमुकामबाट बाहिरिनेको सङ्ख्या धेरै हुने हुँदा यहाँका सदरमुकाम केही हप्ता सुनसान रहेका थिए ।

अहिले भने यहाँका सदरमुकामका पसल, कार्यालय तथा सार्वजनिक स्थानमा एकाएक चहलपहल बढेको होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपकबहादुर खड्काले बबताए ।

उनले भने “चाडबाड र जात्राले केही हप्ता यहाँका सदरमुकाम सुनसान थिए अहिले गाउँघर गएका शहर फर्किन थालेपछि बजारमा चहलपहल बढेको छ ।” त्यस्तै चाडबाड मनाउन डोटीबाट आफ्ना घर गएका कर्मचारीसमेत अहिले जिल्लास्थित आफ्नो कार्यालयमा फकिएपछि सरकारी कार्यालय पनि कर्मचारीले भरिभराउ भएका छन्

यहाँका गाउँघरबाट युवा तथा कर्मचारी आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर महिला, बालबालिका तथा वृद्धका भरमा रहेका छन् । गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दा पर्दासमेत मलामी जाने मान्छे पनि नहुँने अवस्था भएको केआइसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताए ।रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ