भोजपुर, ६ मंसिर ।
भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमण बिरुद्ध बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन् । अखिल (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिको आयोजनामा आज भोजपुरमा बिद्यार्थीहरुले सीमा अतिक्रमणको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा बिभिन्न क्याम्पसमा अध्ययनरत ५ सय भन्दा बढी बिद्यार्थीहरु सहभागी थिए । विरोध प्रदर्शनपछिको कोणसभामा अखिल (क्रान्तिकारी) जिल्ला समिति भोजपुरका कल्पना राई र वाङमेल शेर्पाले सम्बोधन गरेका थिए । प्ले कार्ड सहित प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले कालापानि, लिपुलेक, लिम्पियाधुरामाथिको अतिक्रमण बन्द गर, कालापानी हाम्रो हो, लगायतका नारा लगाएका थिए ।
भारतले कात्तिक १३ गते प्रकाशित गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नेपाली भू–भाग समावेश गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशव्यापि विरोध प्रदर्शन गरिरहेको छ ।
यसअघि काठमाडौ, धनगढि, बाँके, कपिलबस्तु, झापा, सुनसरी लगायतका दर्जनौ स्थानमा केन्द्रीय नेताहरुको उपस्थितिमा प्रदर्शन तथा कोणसभा गरिसकेको छ ।
भारतीय हस्तक्षेप तथा अतिक्रमणका बिरुद्ध क्रान्तिकारी विद्यार्थीहरुले निरन्तर आवाज उठाईरहने र प्रदर्शन जारी रहने अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले बताएका छन् ।
