तनहुँ, ६ मंसिर ।
गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी प्रदेशकै नयाँ पहिचान दिएकोे बताउनुभएको छ ।
भम्रण वर्ष २०२० को अवसरमा तनहुँको ब्यास नगरपालिकाद्वारा आयोजित बृहत् राजमार्ग सरसफाइ अभियानको आज दमौलीमा उद्घाटन गर्दै उहाँले सरसफाइले सभ्य नागरिकको पहिचान दिने हुँदा यसतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री लम्सालले आन्तरिक एवं बाह्य पर्यटक भ्रमणका लागि आउँदा कसैले नाक खुम्चाउन नपर्ने गरी प्रदेशमै नमूना सरसफाइ गरेर देखाउन सक्नुपर्ने बताउनु भयो ।
गण्डकी प्रदेशको राजधानीको प्रवेशद्वार तनहुँलाई सरसफाइमैत्री बनाउनुपर्ने आवश्यकतामाथि जोड दिदैं उहाँले सार्वजनिकस्थलमा कसैले फोहर फ्याँकेमा कारवाही गरिने चेतावनी दिनुभयो ।
ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सरसफाइ अभियानलाई निरन्तरता दिँदै जाने योजना नगरपालिकाको रहेको जानकारी दिनुभयो ।
उक्त अभियानअन्तर्गत जिल्लाको पूर्वमा मुग्लिनदेखि पश्चिममा कोत्रेसम्मको ७२ किलोमिटर राजमार्गमा एकैसाथ सरसफाइ गरिएको छ । सरसफाइ अभियानअन्तर्गत पृथ्वीराजमार्गमा पर्ने तीन गाउँपालिका र दुई नगरपालिका रहेका छन् । जसमा आँबुखैरेनी, बन्दिपुर गाउँपालिका, ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिममा शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सरसफाइ अभियान थालिएको हो ।