काठमाडौं, ४ मंसिर ।
नेपाल र भारतीय सीमा सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको उच्च तहको बैठक आजबाट पोखरामा सुरु हुँदै छ ।
सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसारलगायतका विषयमा छलफल हुने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारी सहभागी हुँदै छन् ।
तीन दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले नेतृत्व गर्दै छन् ।
बैठकमा नेपालका तर्फबाट १० र भारतका तर्फबाट ६ पदाधिकारीको सहभागिता रहनेछ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले सीमाका सुरक्षाका सवालमा हुने गरेको नियमित बैठकको चौथो शृंखला नै नेपालमा आयोजना हुन लागेको जानकारी दिनुभयो ।
यो नियमित बैठकको चौथो शृंखला भएको डीआईजी श्रेष्ठले बताउनु भयो । बैठकले सीमा क्षेत्रमा हुने गरेका अवैध गतिविधिलाई दुवै पक्षको सहमतिमा कसरी नियन्त्रणमा राख्ने भन्ने विषयमा छलफल हुने छ । यस्तै सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसारलगायत विषयमा समेत छलफल हुने जनाईएको छ ।