काठमाडाैं, १ मंसिर ।
सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ र सीमा अतिक्रमणको विरोधमा सीमा बचाऔं अभियानले आज काठमाडौमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । नेविसंघका विद्यार्थीहरूले माइतीघर मण्डलामा भेला भएर सीमामा भएका ज्यादती सह्य नहुने चेतावनी दिए ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले समेटेको भन्दै त्यसको चर्को विरोध गरेका हुन् ।
भारतले तत्काल नक्सा सच्याउनुपर्ने उनीहरुको माग छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले माइतीघर मण्डला परिक्रमा गर्न खोज्दा प्रहरीसंग केही बेर झडप समेत भएको थियो ।

यसअघि, नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा नेविसंघका केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उता आजै सीमा अतिक्रमणको विरोधमा सीमा बचाऔं अभियानले पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
कार्यक्रमका सहभागिहरुले सिमा अतिक्रमण सैह्य नहुने भन्दै यस विषयमा सरकार गंभिर हुनु पर्ने बताए । प्रदर्शनमा सहभागीहरुले सिमा मिच्न पाईदैन, लिपुलेक हाम्रो हो, सिमा बचाऔंलगायतका प्लेकार्ड बोकेका थिए ।

विरोध प्रदर्शनमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भारतले नेपालको भूभागमा सेना राखेर अतिक्रमण गरेको र नेपालको जमिन आफ्नो नक्सामा समावेश गरेको भन्दै उनले समस्या समाधान नहुञ्जेल सरकारलाई निरन्तर दबाब दिने बताए ।