जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएका काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमले कारागारमा गरेको कुराकानी रेकर्ड गरिने भएको छ ।
कारागारबाटै आपराधिक समूह परिचालन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनको कुराकानी रेकर्ड गर्न लागिएको हो । शुक्रबार अदालतले पुर्पक्षका लागि थुन्न आदेश दिएलगत्तै रौतहटबाट राजधानी ल्याइएका आलमलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेलले आलमकै सुरक्षाका लागि कुराकानी रेकर्ड गरिएको दाबी गरे ।
पौडेलका अनुसार आलमले भेट्न आउने आफन्त तथा परिवार र कारागारका अन्य कैदी बन्दीसँग गरेको कुराकानीसमेत रेकर्ड गरिने छ । थुनछेक बहसका क्रममा धेरै कानून व्यवसायी राखेर प्रक्रिया लम्ब्याएका आलमले जाहेरी दिने घटनाका पीडितलाई बयान फेर्न दबाब दिएका थिए । आलमले पारिवारिक सदस्य, निकट नातेदार र उनका पक्षमा बहस गरिरहेका कानून व्यवसायी मात्र भेट्न पाउने छन् । यस्तै आलमका हरेक गतिविधिको भिडियो सिसी क्यामेरामा कैद गरिने भएको छ ।