विष्णु प्रसाईँ अर्थात ‘झापाली टाइगर’

विष्णु प्रसाईँ अर्थात ‘झापाली टाइगर’

  • मङ्लबार, कार्तिक १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त हुनुभएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुनुहुन्छ । उहाँ विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित हुनुभएको थियो ।
झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मनुभएका उहाँ १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो । झापा आन्दोलनमा सक्रिय उहाँ विद्यार्थीकालमा विसं २०२७ मा अनारमनीमा भएको अनेरास्ववियुको कार्यक्रममा पहिलोपटक पक्राउ परी एक महिना राजबन्दी हुनुभएको थियो ।

पञ्चायती शासनको विरोध गर्दै विसं २०३७ मा झापामा भएको पाटा आन्दोलनमा आठ महिना र विसं २०४५ मा २२ महिना जेल पर्नुभएका उहाँ झापाकै पुराना जुझारु कम्युनिस्ट नेता मानिनुहुन्छ । विसं २०२७ मै तत्कालीन भूमिगत नेकपा मालेको सम्पर्कमा रहनुभएका उहाँ प्रधानमन्त्री केपी शर्मा ओली, सिपी मैनालीलगायतसँगका समकालीन नेता हुनुहुन्छ । तेह्रथुम र झापामा नेकपा मालेको सङ्गठन विस्तार र राजनीतिक आन्दोलनमा उहाँको प्रत्यक्ष सहभागिता रहने गरेको थियो ।

लता प्रसाईसँग विवाह गरेको भोलिपल्टै उहाँलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उहाँ लामो अवधिसम्म भारतमा निर्वासित हुनुपरेको थियो । निर्वासनमा रहँदासमेत उहाँले पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गर्नुभएको थियो । विसं २०३६ देखि २०४५ सम्म पूर्वी नेपालमा हुने पञ्चायतविरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले उहाँँलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो ।

विसं २०४६ को आन्दोलनमा पञ्चायती सरकारले उहाँलाई पक्राउ गरेर जेलमा बन्दी बनाएको थियो । विसं २०६२÷६३ को आन्दोलनमा उहाँ झापामा आन्दोलनका नायक नै मानिनुहुन्थ्यो । विसं २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको विशाल जनविद्रोहका बेला उहाँ प्रहरी दमनमा परेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँ तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै विसं २०४३ मा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । उहाँले आफ्नो कार्यकाल पञ्चायतविरोधी गतिविधिमा केन्द्रित गर्नुभयो र पार्टीको सङ्गठन विस्तारमा लागिरहनुभयो । उहाँलाई पञ्चायती शासकले अपराजय बाघ नै सम्झन्थे । त्यसबेला झापामा जुझारु छविका कारण उहाँलाई ‘झापाली टाइगर’ भनिन्थ्यो ।

विसं २०५४ मा उहाँ जिल्ला विकास समितिको उपसभापतिमा नेकपा एमालेका तर्फबाट निर्वाचित हुनुभयो । विसं २०५६ मा झापा क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्नुभएको थियो । साथै उहाँ तत्कालीन एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति हुनुभएको थियो ।

झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किए तापनि उहाँ किसान, मोही हकवाला र मजदुर वर्गको असल मित्र हुनुहुन्थ्यो । उहाँले आफ्नै बुबाले मोहीमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गर्नुभएको थियो । उहाँ विसं २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी