काठमाडाैं, १८ कार्तिक ।
रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै मुद्दा दायर गर्न लागेको हो ।
अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले तत्कालीन प्रहरी अधिकारीहरूसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ ।
११ अभियुक्त आलम बाहेक अन्य १० जनालाई फरार अभियुक्तका रुपमा मुद्दा चलाउन लागिएको छ । जसमा महताब आलम, मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आमल, शेख जुमई भन्ने शेख मलकार, गौरीशंकर शाह, बद्री सहर्नी र मुक्ति शाहविरुद्ध मुद्दा चलाउन लागिएको हो । उनीहरूमध्ये १० जनालाई जन्मकैदको माग गरिएको छ भने मुक्ति साहलाई मतियारको रुपमा मुद्दा चलाउन लागिएको छ ।
साह घाइतेलाई जलाइएको ईटा भट्टाका मालिक हुन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थसम्बन्धि तीन वटा मुद्दा चल्ने छ । तत्कालिन मुलुकी ऐन र अहिलेको मुलुकी अपराध संहिताअनुसार जन्मकैदको मागसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रौतहटका एसपी भुपेन्द्र खत्री बताउँछन् । क्रुर किमिसको अपराध गरेकाले जीवीत रहेसम्म कैद सजाय गराउन प्रहरीले मागदाबी लिएको छ ।
२७ चैत २०६४ मा रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार आलमले मतदानको बुथ नजिकै बम पड्काएर सबैलाई भगाउने र बुथ कब्जा गर्ने योजना बनाउका थिए । त्यसका लागि काका शेख इन्द्रिसको गोठमा बम बनाउन भारतका केही मान्छे ल्याएका थिए । बम बनाउने क्रममा नै बिष्फोट भएपछि दुई नेपालीसहित तीन जनाको मृत्यु भएको प्रहरीको दाबी छ ।
बिष्फोटका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकोमा ईटा भट्टामा हालेर जलाइएको थियो । उनीहरूका परिवारले आलमविरुद्ध किटानी जाहेरी दिएका छन् । तर घटनाका दुई पीडित सफी अमहद र शंकर भनिने गौरीशंकर राम चमारले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएका छन् । बिष्फोटमा घाइते भएकाहरू नै उजुरी परेकाले मुद्दा बलियो भएको प्रहरी अधिकारीको भनाई छ । प्रहरीले घाइतेहरूलाई ईटाभट्टामा लैजान प्रयोग गरेको ट्याक्टर समेत प्रमाणका रुपमा अदालतमा बुझाँउदै छ ।