जुम्ला, कात्तिक १५ ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले लोकसेवा क्षयीकरण हुनबाट जोगाइएको बताउनु भएको छ । लोकसेवा आयोगको कार्यालय जुम्लाको नवनिर्मित भवन उद्घाटनका लागि जुम्ला पुग्नु भएका मैनालीले सम्पूर्ण संस्थाहरु क्षयीकरणमा गएको भन्ने गुनासो आइरहेको सम्बन्धमा लोकसेवा जोगाउने काम भएको बताउनु भएको हो ।
अध्यक्ष मैनालीले अदालत बाहेकका कुनै प्रकारका हस्तक्षेप लोकसेवा आयोगका लागि सह्य नहुने बताउनुभयो । जुम्लाका कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफ्नो पेसासहित सिर्जनात्मक काममा लाग्न समेत आग्रह गर्नुभयो । उहाँले संविधानले लोकसेवा समेटेको भन्दै प्रादेशिक स्तरमा संवैधानिक आयोग हुनुपर्ने बताउनुभयो ।
उहाँले आफू पदमा आएपछि हुम्ला र डोल्पाको परीक्षाको खर्च महँगो भएकाले जिल्लामै परीक्षासमेत सुरु गरिएको जानकारी दिनुभयो । मैनालीले लोक सेवा आयोग योग्यता, निष्पक्षता र स्वतन्त्रताको आदर्श संस्था भएको बताउनुभयो ।
संस्थाको छवि बचाउन आयोग कटिबद्ध रहेको उहाँले दाबी गर्नुभयो ।
विगत केही वर्षको नतिजा हेर्दा सानो तहदेखि सहसचिव तहसम्म जुम्लाको जनशक्ति पुगेको भन्दै खुशी व्यक्त गर्नुभयो । लोकसेवा आयोगका सचिव आनन्दराज ढकालले लोक सेवाको नयाँ भवनले कार्यसम्पादनमा सहज हुने धारणा राख्नुभयो ।