भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

 भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

  • शनिबार, कार्तिक ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

–नारायण अधिकारी

चितवन, ९ कात्तिक । भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रयासबाट आज एक समारोहका बीच सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चारवटै संस्थालाई प्रतिबद्धतापत्र हस्तान्तरण गरेर औपचारिकरूपमा सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्नुभएको हो । सो अवसरमा सहभागी सबैलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहयोगापेक्षी सडक मानवमुक्त बनाउन सहयोग गर्छु भन्ने शपथ खुवाउनुभएको थियो ।

कार्यक्रम घोषणा गर्नुअघि असोज २७ गतेबट महानगरभर रात्रिकालीन उद्धार एवं परामर्श कार्य गरिएको थियो । सो क्रममा सडकमा फेला परेकाहरुको व्यवस्थापन गरिएको थियो । सहयोगापेक्षीहरुलाई भरतपुरमा रहेको मानव सेवा आश्रममा राखिएको छ ।

घोषणासभामा मुख्यमन्त्री पौडेलले सडकमा रहेका सहयोगापेक्षीहरुको व्यवस्थापनको दायित्व सरकारको रहेको बताउनुभयो । सरकारले त्यस्ता मानिसलाई व्यवस्थापन गर्न प्रतिव्यक्ति रु तीन हजार दिने घोषणा गरिसकेको भन्दै उहाँले नेपालका सडकमा एक हजार २०० हाराहारी सहयोगापेक्षी रहेको बताउनुभयो । उनीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार लाग्नुपर्ने उहाँको भनाइ थियो । देशैभर घोषणा नभएसम्म यसले पूर्णता पाउन कठिन हुने भन्दै उहाँले देश समृद्ध बन्नका लागि नेपाली समृद्ध हुनुपर्ने बताउनुभयो ।

महानगरपालिका प्रमुख दाहालले आउँदा दिनमा सहयोगापेक्षीहरुको व्यवस्थापन महानगर आफैँले गर्ने बताउनुभयो । हाल मानव सेवा आश्रमलाई घरभाडा र एउटा सवारी साधन महानगरका तर्फबाट उपलब्ध गराउने भन्दै उहाँले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

सो अवसरमा वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले छिट्टै वीरगञ्जलाई पनि सहयोगापेक्षी मुक्त घोषणा गरिने बताउनुभयो ।

विसं २०७१ देखि चितवनको सडकमा सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये ३०० लाई पुनःमिलन गराइएको छ भने अहिले १०० जना आश्रममा आश्रित रहेका छन् ।

मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घसंस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाइएको हो । घोषणासँगै भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नेपालको पहिलो महानगर बनेकोे छ ।

विसं २०६९ भदौ १३ गते मकवानपुरबाट मानव सेवा आश्रमले काम थालेको हो । अध्यक्ष अधिकारीका अनुसार हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ