काठमाडौँ, ९ कात्तिक ।
राजधानीमा दीपावलीको रमझम बढे पनि उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियान जारी छ ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान दशैँ, तिहार जस्ता ठूला चाडपर्व, जाडो, वर्षा, भूकम्पजस्ता प्राकृतिक विपत्तिलगायत अवस्थाका शनिबार पनि निरन्तर हुँदै आएको छ । सफाइ अभियानबाट आशातीत सफलता प्राप्त नभएपनि जागरण फैल्याउन महत्वपूण काम गरेको छ ।
वाग्मती सफाइ महाअभियानको ३३७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।
उता, गुह्येश्वरीमाथिको वाग्मती सफाइको २९९औँ हप्तामा गोठाटार पुलमुनिको नदी र जोरपाटी चोकस्थित भैरव स्मृति उद्यान (पार्क) मा सफाइ गरिएको थियो । यसवर्षदेखि गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले नै उद्यान सञ्चालन गर्न लागेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । अब प्रत्येक दिन उद्यान खुल्ने र सफाइलाई पनि निरन्तरता दिइने जनाइएको छ ।
यस्तै रुद्रमती सफाइ अभियानको २८९औँ हप्तामा रातोपुल क्षेत्रमा सफाइ गरि एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो ।
विष्णुमती सफाइको २६४औँ हप्तामा टोखा नगरपालिका–११ मनोहर तीर्थघाटबाट मनमैँजु पुलसम्मको क्षेत्रमा सफाइ गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले बताउनु भयो ।
यसैगरी आज मनोहरा नदी सफाइको १३६औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ३२ जडिबुटीस्थित मनोहरा तरकारी बजार क्षेत्रमा सफाइ गरि चार टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
उता, चक्रपथ उत्तरी खण्ड सफाइको १३४औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट बसुन्धरा प्रहरी चौकीसम्म सफाइ गरिएको थियो ।