कार्तिक ८ काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी कप २०१९ मा मापदण्ड उल्लंघन गर्दै क्लबहरुलाई लाइसेन्स दिलाएको पाइएपछि एसियाली फुटबल महासंघ (एएफसी) अनुशासन तथा आचारसंहिता समितिले ३५ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरेको छ ।
अन्तर्रा्ष्ट्रिय फुटबलमा नेपालले बेहोरेको यो ठूलो जरिवाना हो। यसअघि नेपालले १५ हजारसम्म जरिवाना तिरेको छ।
तर, समितिको बुधबार क्वालालम्पुरमा भएको बैठकले एक महिनाभित्र १० हजार डलरमात्रै जरिवाना तिर्नुपर्ने जनाएको छ। बाँकी २५ हजार डलर एन्फाले दुई वर्ष्भित्र गर्ने सुधारका काममा निर्भर हुनेछ। हाल देखिएका कमीकमजोरी दुई वर्ष्भित्र सच्याएर एएफसी क्लब लाइसेन्सिङ प्रणाली पूर्ण रूपमा लागू गरेमा २५ हजार डलर तिर्नु नपर्ने जनाएको छ। कमीकमजोरी नसच्याए निलम्बनसँगै जरिवाना ३५ हजारसम्म पुग्नसक्ने चेतावनी दिइएको छ। समितिले ५ सय देखि १ लाख डलरसम्म जरिवाना गर्न सक्छ।
एसियाली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता ‘एएफसी कप’ मा सहभागी हुनलाई ‘एएफसी कप क्लब लाइसेन्सिङ’ को मापदण्ड पूरा गरेको हुनुपर्छ। एएफसी कप २०१९ को लागि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगका सबै (१४) क्लबलाई सिफारिस गरेको थियो। त्यसमध्ये ९ क्लबलाई एएफसीले लाइसेन्स दिएको थियो। त्यही क्लबहरुलाई गलत तरिकाले लाइसेन्स दिलाएको भन्दै एएफसीले एन्फालाई ३५ हजार डलर जरिवाना गर्ने निर्णय बुधबार गरेको हो।
‘एएफसीले १० हजार डलर जरिवाना गरेको हो। उसले दुई वर्ष्भित्र गल्ती दोहोर्याएमा २५ हजार डलर बढी जरिवाना र निलम्बनको कारबाही गर्ने चेतावनी पनि दिएको छ,’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘एएफसीका प्रतिनिधि आएर तीन क्लबको निरीक्षण गरेको थियो। त्यसपछि सोधिएको स्पष्टीकरणको जवाफ पनि दियौं। थुप्रै कमजोरी देखाइएको छ। एएफसीको मापदण्डमध्ये मुख्य गरी क्लबहरुसँग युथ डेभलपमेन्ट प्रोग्राम र यू–१५ टिम नभएको भन्दै जरिवाना गरिएको हो।’
एएफसी कप २०१९ का लागि सन् २०१८ मै एएफसी कप क्लब लाइसेन्स लिनुपर्ने व्यवस्था थियो। ए डिभिजन लिग च्याम्पियनको हैसियतमा मनाङ मर्स्याङदी क्लबले एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको थियो। ‘होम एन्ड अवे’ को आधारमा भएको प्रतियोगितामा दक्षिण एसियाली क्षेत्रको समूह चरणमै मनाङको चुनौती समाप्त भयो। मनाङसहित सहिद स्मारक ए डिभिजन लिगका १४ क्लबले एन्फाको सिफारिसमा एएफसीमा क्लब लाइसेन्सका लागि प्रस्ताव गरेका थिए। त्यसमध्ये मनाङ, थ्रीस्टार, पुलिस, आर्मी, एपीएफ, मछिन्द्र, संकटा, हिमालयन शेर्पा र च्यासल युवा क्लबले लाइसेन्स पाएका थिए।
त्यसपछि एएफसीको अडिट हेरिरहेको कम्पनी ‘ब्यालेन्सपिक्स’ का प्रतिनिधि एएफसी क्लब लाइसेन्स पाएका क्लबहरूको निरीक्षण गर्न काठमाडौं आएका थिए। उसले मनाङ, थ्रीस्टार र आर्मी क्लबको निरीक्षण गरेपछि एन्फालाई ३७ वटा प्रश्न गर्दै स्पष्टीकरण सोधेको थियो। ‘हामीले केही कुरालाई प्रष्ट गर्यौं तर युथ डेभलपमेन्ट प्रोग्राम र यू–५ टिम हाम्रा कुनै पनि क्लबसँग छैन। यसैलाई एएफसीले मुख्य गल्ती देखाएको छ,’ प्रवक्ता राईले भने।
एएफसीको मापदण्ड पूरा गरेका क्लबहरूले मात्रै औपचारिक प्रतियोगिता खेल्न पाउने प्रावधान छ। एएफसी क्लब लाइसेन्सका लागि क्लब दर्ता, नियमित आर्थिक प्रतिवेदन, बजेट, मार्के्टिङ, एकेडेमी सञ्चालन, उमेर समूहको प्रतियोगिता, रंगशाला, ट्रेनिङ गर्ने मैदान, चिकित्सक, फिजियो, मिडिया अफिसर, एएफसी ए लाइसेन्स उत्तीर्ण प्रशिक्षक, व्यवस्थापकलगायत हुनुपर्ने प्रावधान छ। कुनै क्लबको पनि एकेडेमी छैन। लाइसेन्स लिएका कुनै पनि क्लबले एएफसी लाइसेन्सिङ प्रणालीको मापदण्ड पूरा गरेका छैनन्। एएफसीमा गलत विवरण पठाइएको सम्बन्धमा प्रवक्ता राईले भने, ‘क्लबहरूले जे गरे, हामीले त्यही एएफसीलाई दिएका थियौं।’
एन्फाले यसपालिको ए डिभिजन लिग मंसिर २६ देखि सुरु गर्ने घोषणा गरिसकेको छ। लिग विजेता हुने क्लबले एएफसी कप २०२० खेल्ने अवसर पाउनेछ। एएफसी क्लब लाइसेन्स प्राप्त गर्न नसके क्लबले छनोट भएर पनि एएफसी कप खेल्न पाउने छैन। त्यसैले एएफसीले घरेलु लिगमै एएफसी क्लब लाइसेन्सिङ प्रणाली अनिवार्य गरिएको हो। एएफसी कप २०२० का लागि राजधानीका ए डिभिजनका १४ क्लबलाई एन्फाले लाइसेन्सका लागि सिफारिस गरिसकेको छ। त्यसमाथि एएफसीले निर्णय भने लिइसकेको छैन।
फुटसल प्रशिक्षकलाई पनि जरिवाना
इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसिप २०२० को मध्य तथा दक्षिण एसियाली छनोटको पहिलो खेलमा ताजकिस्तानविरुद्धको खेलमा नियम उल्लंघन गरेको भन्दै नेपाली टिमका प्रशिक्षक विष्णु गुरुङलाई १ हजार डलर जरिवाना गर्ने निर्णय एएफसीको अनुशासन समितिले गरेको छ। साथै उनलाई एक खेलमा निलम्बनको कारबाही गर्ने निर्णय पनि गर्यो।