कार्तिक ८ काठमाण्डौं । निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि आचारसंहिता आजबाट लागू भएको छ । निर्वाचन हुने क्षेत्रभित्र संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र सरोकारवाला निकाय तथा व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला तथा स्थानीय तह सदस्यको निर्वाचन हुने तहमा निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित सरकारहरूले प्रचारप्रसार तथा नयाँ कार्यक्रम गर्न नपाउने आयोग प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए । त्यस्तै, भवन, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने आचारसंहिता पालना गर्नुपर्नेछ । सम्बन्धित सरकारले कर्मचारी सरुवा, बढुवा गर्न वा काजमा खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनुपर्ने आचारसंहिता तोकिएको छ । तर, लोकसेवा आयोग, न्याय सेवा आयोग, शिक्षा सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले नियमित रूपमा गर्ने पदपूर्तिमा भने आचारसंहिता बाधक नहुने आयोगले जनाएको छ ।
राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता मितिदेखि निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म पालना गर्नुपर्ने आचारसंहिता पनि लागू गरिएको छ । जुलुस, आमसभार्, याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारीसाधन प्रयोग गर्दा, प्रचारप्रसारमा सञ्चारमाध्यम प्रयोग गर्दा, निर्वाचन खर्च गर्दा, मौन अवधि र मतदानको दिन पालना गर्नुपर्ने आचरण लागू गरिएको छ । निर्वाचन अयोगबाट अनुमति नलिएका सवारीसाधन निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाउने व्यवस्था छ ।
आयोगले तोकेको आकारको मात्रै ब्यानर प्रयोग गर्न पाइने भए पनि पोस्टर बनाएर प्रचारमा भने रोक लगाएको छ । केही दिनमै आचारसंहिताको पूर्ण व्यहोरा आयोगको वेबसाइटबाट प्रकाशित गर्ने तयारी छ ।
आयोगले एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्यका लागि उम्मेदवारको २४ कात्तिक र स्थानीय तहका अन्य ४८ सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली ३० कात्तिकमा प्रकाशित गर्ने तालिका छ ।
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेपछि अन्तिम परिणाम नआउँदासम्म आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरण, निजी तथा गैरसरकारी संस्था र पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण पनि लागू गरिएको छ ।
स्वच्छ, निष्पक्ष र पारदर्शी वातावरणमा भयमुक्त निर्वाचन गराउन आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । आचारसंहिता कार्यान्वयन तथा अनुगमन गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम उपनिर्वाचन केन्द्रीय आचारसंहिता समिति बनाइने प्रवक्ता श्रेष्ठले बताए ।