कार्तिक ७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन ( नाम ) को १८ औं शिखर सम्मेलनमा भाग लिन आज अजरबैजानको राजधानी बाकु प्रस्थान गरेका छन् ।
कतार एयरवेजको विमानबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यस तर्फ लागेका हुन् । पत्नी राधीका शाक्य, सल्लाहकार विष्णु रिमाल सहितको टोली उनीसगैँ गएका छन् भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली यस अघि नै त्याहा पुगिसकेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल लगायत सरकारी अधिकारीले प्रधानमन्त्रीको विदाई गरेका थिए ।
भोली र पर्सी हुने सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओलीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो सहित अन्य विभिन्न देशका राष्ट्रप्रमुखहरुसगँ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
ओलीले साइडलाइनमा भेनेजुयलाका राष्ट्रपति मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । नाम सम्मेलन साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लागेका हुन्। मडुरो नामको वर्तमान अध्यक्ष हुन्। ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ ।
मडुरोको पक्षमा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य निकालेपछि विवादीत बनेको थियो । अमेरीकाले उक्त वक्तव्यको विरोध गर्दै नेपाल सरकारको धारणा माग गरे पछि विवाद उत्पन्न भएको थियो ।
प्रधानमन्त्री ओली स्विजरल्यान्डमा रहेका बेला दाहालले वक्तव्य निकालेका थिए । भेनेजुयलाको विषयमा अमेरिकालाई चिढ्याएको भन्दै दलभित्रै विवाद भएको थियो। भेनेजुयलासँग नेपालको खासै सम्बन्ध नभए पनि विचारधाराका कारण भन्दै दाहालले विज्ञप्ति निकालेका थिए।
ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग भेटघाट गर्नेछन्।
यसैबीच प्रधानमन्त्री ओली बाकु गए पछि कार्यबाहक प्रधानमन्त्रीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल नियुक्त भएका छन् । पोखरेलले दैनिक प्रशासन सम्हालने गरी राष्ट्रपतिले नियुक्त गर्नु भएको हो ।
प्रधानमन्त्री ओली १० गते स्वदेश फर्कनेछन् ।