कार्तिक ७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन ( नाम ) को १८ औं शिखर सम्मेलनमा भाग लिन आज अजरबैजानको राजधानी बाकु प्रस्थान गर्दैछन् ।
यसै सम्मेलनका बेला ओलीले साइडलाइनमा भेनेजुयलाका राष्ट्रपति मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । नाम सम्मेलन साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लागेका हुन्। मडुरो नामको वर्तमान अध्यक्ष हुन्। ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ ।
मडुरोको पक्षमा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य निकालेपछि विवादीत बनेको थियो । अमेरीकाले उक्त वक्तव्यको विरोध गर्दै नेपाल सरकारको धारणा माग गरे पछि विवाद उत्पन्न भएको थियो ।
प्रधानमन्त्री ओली स्विजरल्यान्डमा रहेका बेला दाहालले वक्तव्य निकालेका थिए । भेनेजुयलाको विषयमा अमेरिकालाई चिढ्याएको भन्दै दलभित्रै विवाद भएको थियो। भेनेजुयलासँग नेपालको खासै सम्बन्ध नभए पनि विचारधाराका कारण भन्दै दाहालले विज्ञप्ति निकालेका थिए।
ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग भेटघाट गर्नेछन्। सम्मेलनमा भारतले आलंकारिक उपराष्ट्रपतिलाई सहभागी गराएर असंलग्न आन्दोलनको महत्त्वबाट बाहिर रहन खाजेको सन्देश दिएको छ। १७ औं शिखर सम्मेलनमा पनि भारतले उपराष्ट्रपति नै पठाएको थियो। यो सम्मेलनमा नेपालबाट उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए ।
शिखर सम्मेलनमा ओलीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।