दुई गाउँपालिकाको सिमा विवाद सुल्झाउन सात बुँदे सहमति

दुई गाउँपालिकाको सिमा विवाद सुल्झाउन सात बुँदे सहमति

  • मङ्लबार, कार्तिक ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

गाेरखा, ५ कार्तिक । 

बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुँदे सहमति गरिएको छ । जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो ।

दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढङ्गले सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिनुभयो । “सिमाङ्कनका लागि स्थानीय दुवैतर्फका बस्तीको परामर्शमा सङ्घ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो ।

तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु सोहीअनुसार प्रयोग गर्ने सहमति भएको प्रमुख गुरुङले जानकारी दिनुभयो । “परापूर्वकालदेखि भोगचलन गर्दै आएका खर्कहरु पहिले जे–जसरी प्रयोग हँुदै आएका छन्, त्यसलाई निरन्तरता दिने सहमति पनि भएको छ”, उहाँले भन्नुभयो । केही दिनअघि लाप्राक पुग्ने सडकखण्ड निर्माणमा भएको अवरोधलाई हटाउने निर्णय पनि सर्वपक्षीय बैठकमा भएको प्रमुख गुरुङले जानकारी दिनुभयो ।

“बारपाक–लाप्राक सडकखण्ड मर्मतकार्यलाई तत्काल अघि बढाउने सहमति बैठकले गरेको छ”, उहाँले भन्नुभयो, “लाप्राकसम्म बस सञ्चालन गर्ने वातावरण बनाउन पनि सबै पक्षबीच सहमति भएको छ ।” खानेपानीको सवालमा स्थानीयवासीको आवश्यकतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा रहेको मूलको पानी सहमतिमा बाँडफाँड गर्ने निर्णय भएको छ ।

सहमतिअनुसार बारपाकको सामुदायिक वन समितिले नियन्त्रणमा लिएको लाप्राकका स्थानीयवासीका बोका र बाख्रा लाप्राकीलाई नै तत्काल फिर्ता गराउने सहमति भएको प्रमुख गुरुङले जानकारी दिनुभयो । त्यस्तै दुवै पक्षले त्यस क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै काम नगर्ने, अन्य विवादित विषयमा स्थानीय तहले सम्बन्धित वडाको परामर्श र सहयोगमा आपसी छलफलको आधारमा टुङ्गो लगाउने निर्णयसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

छलफलमा जिल्ला समन्यव समिति प्रमुख गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष तथा स्थानीयवासीलगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ