असोज २८ काठमाण्डौं । विश्वकप २०२२ को छनौट अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपालले आज बलियो प्रतिद्धन्दी जोर्डन विरुद्ध उसैको भूमिमा पहिलो हाफ्मा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफ्को ५५ औ मिनेटमा रेफ्रीले विरुद्ध पेनाल्टी दिए पछि पराजयको शिकार हुन बाध्य भयो ।
१ शुन्यले पछि परेको अवस्थामा समेत नेपालले केही राम्रो आक्रमणको प्रयास गरेको थियो । तर मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोक्ने नेपालको चाहना पूरा हुन सकेन ।
त्यस पछि ७८ औं मिनेटमा नेपालले दोस्रो गोल ब्यहोर्न बाध्य भयो । त्यसको १० मिनेट पछि नै नेपालले थप अर्को गोल ब्यहोर्दै समग्रमा तीन शुन्यको हार ब्यहोर्न बाध्य भयो ।
अम्मान अन्तराष्ट्रिय रंगशालामा गोल किपर कप्तान किरण चेम्जोग र डिफेन्डरहरुको कडा मेहेनतका कारण पहिलो हाफ् बराबरीमा रोक्न नेपाली टिम सफल भएको थियो । किरणले जोर्डनको पटक पटकको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।
फिफा बरियतामा नेपाल १ सय ६१ स्थानमा छ भने जोर्डन ९८ स्थानमा रहेको छ ।
यस अघि जोर्डन सगँ २३ जुलाई २०११ मा भएको छनौट चरणकै खेलमा उसकै भूमिमा ९ गोल खाएको नेपालले दशरथ रंगशालामा जुलाई २८ मा एक एक गोलको बराबरी खेलेको थियो । त्यतिखेर नेपालका लागि भरत खवासले गोल गरेका थिए ।
यस अघि भएका खेलमा नेपाल अष्ट्रेलियासगँ ५ शुन्य गोलले पराजीत भएको थियो भने कुवेतसगँ ७ शुन्यले हार व्यहोर्न बाध्य भएको थियो । चाईनिज ताईपेईलाई भने नेपालले उसकै भूमिमा २ शुन्यले हराएर ३ अंक जोडेको छ ।