चीन, भारत र नेपाल त्रिपक्षीय सहकार्य

चीन, भारत र नेपाल त्रिपक्षीय सहकार्य

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको दोस्रो अनौपचारिक बैठकले दुई देशको सम्बन्धमा सकारात्मक तरंग ल्याएको छ । सम्बन्धमा न्यानोपन छाइरहेको समयमा भएको बैठकले द्विवपक्षीय सम्बन्धमा उत्साहको लहर सञ्चार गर्‍यो । मोदीसँग बैठक सकेपछि सीले भारतको उत्तरी छिमकी नेपालको भ्रमण गरे । सीको नेपाल भ्रमण २३ वर्षको अन्तरालमा चिनियाँ राष्ट्रपतिले गरेको पहिलो भ्रमण थियो । यसले चीन र नेपालको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको मानिएको छ ।

सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले मैत्रीपूर्ण सम्बन्ध कायम राखेका छन् । दुई देशले सन् १९६१ मा सीमा सम्झौता गरेर यो पेचिलो मुद्दालाई सौहार्दताका साथ समाधान गरे । तिनले एक–अर्काको प्रमुख चासोका साथसाथै सार्वभौमसत्ता र भौगोलिक सम्प्रभूतालाई सम्मान गर्छन् । नेपालले तिब्बत मामिलामा सघाउने गरेको छ । आफ्नो देशमा ‘स्वतन्त्र तिब्बत पक्षधर’का गतिविधिमा प्रतिबन्ध लगाएको छ । चीनले नेपालका यस्ता कदमलाई सराहना गर्छ ।

चीनले नेपाललाई विविध क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ । नेपालका केही राजमार्ग, कैयाैँ अस्पताल, सिँचाइ आयोजना, एक कपडा मिल र देशको एक मात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माणमा चीनले सघायो । यी पूर्वाधारले देशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

विसं २०७२ सालमा नेपाललाई धक्का दिएको महाभूकम्पले नेपाली जनजीवनमा ठूलो क्षति पुर्‍यायो । विपद्को यस घडीमा चीन सहयोगका लागि तत्कालै अघि बढेको थियो । त्यस्तै, २०७४ को अन्तिमतिर नेपालले चिनियाँ ब्रोडब्यान्ड प्रयोग गर्न सुरु गर्‍यो । योसँगै नेपालीले थप विश्वासिलो अन्तर्राष्ट्रिय इन्टरनेट सेवाको उपभोग गर्न पाउने अवस्था बन्यो ।

चीन र नेपालबीच सहकार्यका कैयौँ सम्भावना छन् । तीन करोड जनसंख्या भएको नेपाल प्राकृतिक स्रोतका हिसाबले समृद्ध राष्ट्र हो । तर, भौगोलिक अवरोध र राजनीतिक अस्थिरताले नेपाललाई उसको पूर्ण क्षमता हासिल गर्नबाट रोकिराखेको छ ।  २१औँ शताब्दीको प्रारम्भमा दक्षिण एसिया तीव्रतर विकास हुने क्षेत्र बनेको छ । त्यही क्षेत्रमा रहेको नेपालमा विकासप्रति बलियो उत्कन्ठा देखिन्छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँग नजिक हुनु नेपालको विकासका लागि ठूलो अवसर हो । चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)ले नेपाललाई ऐतिहासिक अवसर प्रदान गर्नेछ ।

चीन–नेपालबीचको सहकार्यले भौतिक पूर्वाधारमा उल्लेख्य सघाऊ पुर्‍याउनेछ । दुई पक्षले सिमानामा रहेका तीन प्रमुख नाकाको स्तरोन्नतिका लागि सहकार्य गर्नुपर्छ । सोही अवधिमा चीन र नेपालले तिब्बत स्वशासित क्षेत्रमा पर्ने सिगात्से सहरलाई नेपालको राजधानी काठमाडौंसँग जोड्ने चीन–नेपाल रेलसेवा परियोजनाको कामलाई अघि बढाउनुपर्छ ।
दुई देशले प्राकृतिक सम्पदाको उत्खननमा सहकार्य गर्न सक्छन् ।

नेपाल जलस्रोतमा धनी छ, तर ऊसँग त्यो प्राकृतिक सम्पत्तिलाई उपभोगमा ल्याउने स्रोत र प्रविधिको अभाव छ । यसले गर्दा नेपालमा ऊर्जा अभाव देखिन्छ । चीनले नेपाललाई जलविद्युत् उत्पादनमा सहयोग गर्न सक्छ । यसले नेपाललाई आफ्नो घरेलु विद्युत् माग पूरा गर्न मात्र सघाउँदैन, ऊर्जाको निर्यातमा पनि सघाउनेछ ।

चीन र नेपालले औद्योगिक सहकार्यलाई गहन बनाउन सक्छन् । नेपाल अहिले पूर्व–औद्योगिक चरणमा छ । नेपालले आफूले उपभोग गर्ने अधिकांश सामग्री आयात गर्छ । यदि दुई देशले नेपालमा औद्योगिक पार्क निर्माण गर्न सहकार्य गरे र लगानीको लागि चिनियाँ उद्यमीलाई आकर्षित गर्न सके भने यसले नेपालको घरेलु आवश्यकता मात्र पूरा हुने होइन, ठूलो संख्यामा रोजगारीको अवसर पनि सिर्जना हुन्छ ।
नेपाल–चीन सहकार्यमा गरिने परियोजनामा भारतलाई आमन्त्रण गरेर चीन–नेपाल–भारत त्रिपक्षीय सहकार्य विकास गर्न सकिन्छ । यसरी भारतलाई विश्वासमा लिन सकिन्छ र परियोजनाबाट हुने आर्थिक फाइदा पनि बढ्छ ।
नेपाल पर्यटकीय हिसाबले अत्यन्त धेरै सम्भावना बोकेको मुलुक हो । पर्यटन उद्योग अर्थतन्त्रको मुख्य खम्बा बनेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८मा १ लाख ५० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरे । नेपाल भ्रमण गर्ने आउने पर्यटकमा चिनियाँको संख्या दोस्रो स्थानमा छ । अझ त्यसमा थप वृद्धिको प्रशस्त सम्भावना छ । नेपाली राजनीतिमा छाउने स्थायित्वले द्विवपक्षीय सहकार्यले सम्भावनालाई व्यवहारमा उतार्न सघाउनेछ ।

नेपाली राजनीति विगत केही वर्ष अस्थिर रह्यो । यसले नेपालको विकासमा मात्र अवरोध पुर्‍याएन, चीन–नेपाल सहकार्यलाई पनि असर गर्‍यो । तर, नेकपा (माओवादी केन्द्र र नेकपा एमाले)बीच बनेको गठबन्धनले अघिल्लो निर्वाचनमा ठूलो मत प्राप्त गरेपछि यसमा केही प्रगति भयो । सो गठबन्धनबाट केपी शर्मा ओली प्रधानमन्त्री चुनिए । पछि दुई पार्टीबीच भएको एकीकरणले नेपालमा राजनीतिक स्थायित्व ल्याएको छ ।

नेपाल–चीन सम्बन्ध थप उचाइमा पुर्‍याउन सकिने सम्भावना छ । तर, यसरी विकसित हुने सम्बन्धमा भारत सशंकित देखिन्छ । भारत दक्षिण एसियालाई आफ्नो प्रभाव क्षेत्र मान्छ । नेपाल र चीनबीच सम्बन्ध गहिरिँदै जाँदा आफ्नो प्रभाव कमजोर होला भन्ने डर भारतलाई छ । यो डर निवारण गर्न चीनले नेपाल तथा अरू दक्षिण एसियाली देशबीच सम्बन्ध विकास गर्ने आफ्नो उद्देश्य थप प्रस्ट्याउनुपर्ने आवश्यकता छ । चीनले भारतलाई नेपाल–चीन सहकार्यमा गरिने परियोजनामा आमन्त्रण गरेर चीन–नेपाल–भारत त्रिपक्षीय सहकार्य विकास गर्न सक्छ । यसले भारतमा विश्वास बढाउँछ र साथमा परियोजनाको आर्थिक फाइदा पनि वृद्धि हुन्छ ।

उदारणका लागि यदि तीन देशले नेपालमा जलविद्युत् निर्माण गर्न सहकार्य गरे भने चीनको लगानी तथा प्रविधि र भारतको ठूलो बजारले एकसाथ लाभ उठाउनेछन् । चीन–भारतबीच रणनीतिक विश्वास वृद्धि भइरहेको वर्तमान समयमा दुई देशबीचमा रहेको नेपालले चिनियाँ र भारतीय स्रोतलाई आफ्नो विकास अभिवृद्धि गर्न प्रयोग गर्न सक्छ । साथमा नेपाल चीन र भारतको पुल बन्न सक्छ ।

(लेखक चाइना वेस्ट नर्मल युनिभर्सिटीअन्तर्गत ‘सेन्टर अफ इन्डिया स्टडिज’का निर्देशक हुन्)
साभार : ग्लोबल टाइम्स

नयाँ पत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी