असोज २४ काठमाण्डौं । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो।
चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो।
सि आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा नेपालसँग द्विपक्षीय ‘कनेक्टिभिटी’ लगायतका भौतिक पूर्वाधारका विषयमा केन्द्रित हुने बताइएको छ।
यस्ता छन् मन्त्रीपरिषद्का अन्य निर्णयहरु :
१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्ब ७१ करोड १३ लाख रूपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
२. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ।
३. आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ।
४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ।
५. नख्खुखोला–भैंसेपाटी–बुङ्गमती सडक स्तरोन्नति गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।
६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा ऊर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ।