चितवन, ११ असाेज । ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको छ। चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका हुन्।
शाहीलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ। उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। ‘नेपालका लागि नेपाली’ अभियान अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो ।
उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो।
प्रहरीको सहयोगमा घाइते शाहीलाई चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।उनको हातका साथै शरीरका अन्य भागमा पनि चोट लागेको तर सिटी स्क्यान लगायतका परीक्षण गर्दा गहिरो चोट लागेको नदेखिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिएका छन् ।
चितवनमा प्राथमिक उपचारपछि उनलाई काठमाण्डौं पठाइएको छ । थप उपचार र जिल्लाको शान्ति सुरक्षा नबिगि्रयोस् भनेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ। केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो।
आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।