काठमाडौं । जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।
शुक्रबारदेखि सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन्। आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदक छानिनेछन्।
जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजान लागेको हो। भाषा परीक्षाका लागि जापानले लक्की ड्रमार्फत एक हजार जना छनोट गर्नेछ। भाषा परीक्षामा उत्तीर्ण भएका मात्रै केयर गिभरका लागि जापान जान पाउनेछन्। भाषा परीक्षाका लागि जापानले असोज २२ गते मात्रै नतिजा प्रकाशन गर्नेछ। लक्की ड्रमार्फत छानिएकाले असोज २४ गते दुई हजार पाँच सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउँछन्।
जापानले युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट कम्प्युटरमा आधारित भाषा र सीप परीक्षा सञ्चालन गर्नेछ। कात्तिक १०, ११ र १२ गते पहिलो चरणको परीक्षा हुनेछ। त्यस्तै दोस्रो चरणमा कात्तिक १९, २० र २१ गते र तेस्रो चरणमा कात्तिक २६, २७ र २८ मा भाषा तथा सीप परीक्षा हुने तय भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले सबैका लागि आवेदन खुलाइँदा जापान जान इच्छुकको संख्या सजिलै थाहा पाइने बताए। एक एजार जनाको मात्रै आवेदन लिने व्यवस्था गरेको भए समस्या हुन सक्ने उनले बताए। उनले केयर गिभरको परीषाको अनुभव लिएर आगामी परीक्षा थप व्यपस्थित गर्न सहयोग पुग्ने बताए।