टिकट बुकिङ भद्रगोलः मध्यरातदेखि लाइनमा बसेका यात्रुले पनि टिकट पाएनन्

टिकट बुकिङ भद्रगोलः मध्यरातदेखि लाइनमा बसेका यात्रुले पनि टिकट पाएनन्

  • सोमवार, अशोज ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ६ असाेज । दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्।

बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन।

गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाएनन्। टिकट बिहान ६ बजेदेखि वितरण सुरु गरिएको थियो।

टिकट लिन महिला, पुरुष, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकाको छुट्टाछुट्टै लाइन नराख्दा समस्या आएको हो। सवारी साधनको स्तरअनुसार डिलक्स, सुपर डिलक्स, साधारण वर्गीकरण नगरिँदा पनि यात्रु अलमलमा परेका हुन्। दसैं मनाउन उपत्यकाबाट करिब ३० लाख यात्रु गाउँ फर्कने अनुमान छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव लेकनाथ गौतम लाइन व्यवस्थापन गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र तालुक निकायको भएको बताउँछन्। ‘यात्रु आफैं पनि सही ढंगले लाइनमा नबस्दा भद्रगोल देखिएको हो’, उनले भने, ‘महिला, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकालाई लाइनमा बस्नेले नै प्राथमिकता दिएर संस्कार देखाउनुपर्ने हो। तर, त्यस्तो देखिएन।’

काठमाडौंबाट अन्य समयमा दैनिक १३ देखि १५ सय सार्वजनिक सवारीसाधन बाहिरिन्छन्। ती सवारी साधनले करिब ३० देखि ४० हजार यात्रुलाई सेवा दिने क्षमता राख्छन्। तर, घटस्थापनादेखि र फूलपातीसम्म दैनिक एकदेखि डेढ लाख र त्यसपछि साढे दुई लाख यात्रु काठमाडौंबाट बाहिरिन्छन्। निजी सवारीसाधन प्रयोगकर्ता थोरै छन्।

टिकट बुकिङ भए पनि यात्रुले बुकिङमा सवारीसाधनको नम्बर पाएका छैनन्। व्यवसायीले यात्रुसँग डिलक्स र सुपर डिलक्स भनेर यातायात व्यवस्था विभागले तोकेभन्दा २० देखि ४० प्रतिशत बढी भाडा लिएका छन्। घटस्थापनादेखि फूलपातीसम्मका लागि करिब ७० प्रतिशत टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ। सीमित सिटसंख्या देखाउँदै व्यवसायीले तीन–चार दिनभित्रै बुकिङ बन्द गर्ने तिकडम रच्ने यात्रुको गुनासो छ।

टिकट नपाउने यात्रुको मनोविज्ञान बुझेका व्यवसायीले यसको फाइदा उठाएर महँगोमा बेच्छन्। ‘क्षमताभन्दा कम बुकिङमै सकिएको बहाना बनाएर व्यवसायीले कालोबजारीमा टिकट बेच्न थाल्छन्’, सार्वजनिक यातायात व्यवस्थापनका अभियान्ता रामबहादुर थापा भन्छन्, ‘यातायात व्यवस्था विभागको यात्रु सहायता कक्षमा गुनासो राख्न यात्रु जाँदैनन्। चुपचाप बढी मूल्यमा टिकट किन्छन्।’

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यात्रुलाई डिलक्स र सुपरडिलक्सको नाममा महँगो टिकट नलिन यात्रुलाई आग्रह गरेका छन्।

यात्रुका गुनासो सुनुवाइका लागि यातायात व्यवस्था विभागले असोज १० देखि १८ गतेसम्म राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना गरिने तयारी गरेको थियो। तर, टिकट बुकिङ आइतबारदेखि नै सुरु भइसकेको छ। यात्रुका गुनासो सुन्ने निकाय गोंगबुबाहेक अन्य स्थानमा राखिएको छैन। विभागको स्वयम्भू, माछापोखरी, कलंकी, नागढुंगा, बल्खु, कोटेश्वर, गौशाखा, चाबहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा सहायता कक्ष स्थापना गर्ने योजना छ।

महानिर्देशक हमालले दसैंको टिकट ५ गतेदेखि नै खुला भएकाले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार ७ गतेसम्ममा सबै क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ। ‘यात्रुका गुनासा सहायाता कक्षले हेर्छ। महँगो टिकट, दुव्र्यवहार रोक्न विभागले सहायता कक्ष राखेको छ,’ हमालले भने।अन्नुपूर्णपाेष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ