५ असोज, काठमाडौं ।दशैंका लागि आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएकाे छ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबार बिहानैबाट टिकट बुकिङ सुरू भएकाे छ ।
सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा भीड पनि बढेकाे छ । नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएपछि त्यहाँका काउन्टरमा पनि भीडभाड देखिएको छ ।
दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् । तर, लामो दूरीका सार्वजनिक बस सीमित संख्यामा हुँदा दशैंमा घर जाने यात्रुले असहजता झेल्दै आइरहेका छन् ।विगत वर्षदेखि नै यस्तो असुविधा झेल्ने गरेका भए पनि यसमा सुधार आउन सकेको छैन ।
लामो दूरीको यात्राका लागि आजबाट टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । यसैबीच, यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्नेछ ।
बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले यातायात व्यवस्था विभाग वा ट्राफिक प्रहरीमा उजुरी पनि गर्न सक्ने विभागका निर्देशक तिर्थराज खनालले जानकारी दिए ।