न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै अदालत, यी ९ प्रकारका सूचना नदिने

न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै अदालत, यी ९ प्रकारका सूचना नदिने

  • सोमवार, भदौ २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, २३ भदाै ।

सर्वोच्च अदालतले न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्ने भएकाे छ । न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरूप दिन त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारी सर्वाेच्चले गरेकाे हाे ।

अदालतमा विचाराधीन मुद्दाको निर्णय र आदेश वा काम कारबाहीमा प्रभाव पर्ने गरी सूचना सम्प्रेषण गर्न नपाइने व्यवस्था प्रस्तावित सञ्चार नीतिमा रहेकाे छ। न्यायिक समाचार सम्प्रेषणका लागि अदालत पुग्ने पत्रकारले मर्यादित पोसाक लगाउनुपर्ने व्यवस्थासमेत सञ्चार नीतिमा राखिएको छ। ‘न्याय सम्पादनसम्बन्धी काम कारबाहीको सिलसिलामा गरेको कुनै निर्णय, आदेश वा काम कारबाहीको विषयप्रति व्यक्तिगत स्वार्थ वा दुराग्रह राखी अदालत, न्यायाधीश, कानुन व्यवसायी वा कर्मचारीउपर व्यक्तिगत लाञ्छना लाग्ने वा न्यायपालिकाको विश्वसनियतामा आँच आउने गरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख रचना प्रकाशन प्रसारण गर्न पाइने छैन’, सञ्चार नीतिको प्रारम्भिक मस्यौदामा भनिएको छ।

अदालतको सम्बन्धित इजलासले अनुमति दिएबाहेक इजलासको कामकारबाहीसम्बन्धी समाचार वा सूचना संकलनमा श्रव्यदृश्य सामग्रीको प्रयोग गर्न नपाइने व्यवस्थासमेत राखिएको छ। मुलुकभरका सबै अदालतले सार्वजनिक चासोको विषयका मुद्दा-मामिलामा भएका आदेश, निर्णय वा कामकारबाहीका सूचना यथाशीघ्र सर्वोच्च अदालतको सूचना तथा सञ्चार शाखालाई उपलब्ध गराउनु पर्नेछ। सर्वोच्चलाई प्राप्त सूचना तथा जानकारी सूचना तथा सञ्चार शाखाले सम्प्रेषण गर्ने व्यवस्था मिलाउनेछ।

सूचना प्रवाह वा समाचार संकलनका लागि आवश्यक क्यामेरा वा भिडियो क्यामेरा वा श्रव्यदृश्य लिन मिल्ने अन्य साधन अदालतमा लैजानुपर्ने भएमा अदालतबाट पूर्वअनुमतिपत्र लिनुपर्ने व्यवस्था छ। यस्तै, सार्वजनिक महत्वको मुद्दामा भएको सुनुवाइको रेकर्ड गर्न, फोटो लिन, भिडियो खिच्न, रेडियो तथा टेलिभिजनमा प्रसारण गर्न आवश्यक देखिए सम्बन्धित इजलासको अनुमति लिएर प्रसारण गर्नु पर्नेछ।

सूचना प्राप्तिका लागि नियमित रूपमा न्यायिक समाचार संकलन गर्ने संवाददाता तथा पत्रकारलाई निश्चित अवधिका लागि स्थायी प्रवेश पासको व्यवस्था गरिने भएको छ। यस्तै, आफ्नो भौगोलिक क्षेत्राधिकारभित्रको जनसंख्याको बनोटका आधारमा स्थानीय भाषामा समेत नागरिक बडापत्र राख्न सकिनेछ।

न्यायाधीश तथा अदालतका जनशक्तिले कार्यालय समयबाहेक फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल अदालतको मर्यादा र आस्थामा आँच आउने विषयमा ख्याल राख्न पनि सजग गराइएको छ।

अदालतले व्यक्तिगत गोपनीयता र व्यक्तिको जीवन, स्वास्थ्य तथा सुरक्षामा खतरा, अपराधको अनुसन्धान, तहकिकात र अभियोजनमा प्रत्यक्ष असर पार्ने, आर्थिक, व्यापारिक, मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण, बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर असर पर्ने विषय,  जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्ने सूचना, इजलासबाट सुनुवाइ हुने भनी तोकिएका वा व्यक्तिगत परिचयात्मक विवरण वा गोप्यता राख्नुपर्ने मुद्दा प्रसारणमा बन्देज लगाइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ