मेलम्ची, १९ भदौ ।
मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदुर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नाका साथै हवाईफायर गरेको छ ।
झडपमा दुई–दुई प्रहरी र पीडित आन्दोलनकारी गरी ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभएको छ । झडपमा प्रहरीबाट ६ सेल अश्रुग्यास तथा दुई राउन्ड हवाईफायर भएको छ भने पीडितले ढुंगामुढा प्रहार गरेका छन् ।
आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी–साधनमा ढुंगा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिनुभयो । तोकेको घेरा नाघ्न खोजेपछि आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो ।
त्यसैक्रममा आन्दोलनकारीले एक्कासि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले भीड तितरबितर पार्नका लागि हवाईफायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताउनु भयो । आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पीडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको हो ।
अम्बाथानमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्यलगायतको टोलीसहित एकैपल्ट जाने भनिए तापनि आन्दोलनकारीले पर्खन नसक्ने भन्दै ढुंगामुढा प्रहार गरेपछि घटनाले उग्ररुप लिएको प्रहरीको भनाई छ ।