काठमाडौं, भदौ १७ ।
संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा देखिएका कमजोरीबारे अध्ययन गर्न गठित छानविन समितिले सबै गाडीमा कमजोरी देखिएको बताएको छ । संघीय संसदका विभिन्न समितिका सभापतिका लागि खरिद गरिएको ११ वटा गाडीमध्ये सबैमा कुनै न कुनै समस्या देखिएको छानबिन समिति संयोजक रामनारायण विडारीले बताउनु भएको छ ।
समितिले प्राविधिक इन्जिनियर, सार्वजनिक खरिद अनुगमन कार्यालयका विशेषज्ञ र आपूर्तिकर्तासँग छलफल गरी प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदन आज सभामुख कृष्णबहादुर महरालाई बुझाइएको छ । समितिले ती गाडी सामान्य मर्मत गरेर हुने भए ७ दिनभित्र मर्मत गर्न लगाउन, ७ दिनमा मर्मत गरेर नसक्ने भए फिर्ता पठाउन र फिर्ता नगरे आपूर्तिकर्तालाई कारबाही गर्न सिफारिस गरेको छ ।
समिति सभापति विडारीले गाडी खरिदमा आर्थिक चलखेलको भने पुष्टि नभएको बताउनु भयो । संघीय संसदले खरिद गरेको गाडीमा विभिन्न खालका कमजोरी देखिएपछि उक्त विषयमा छानबिन गर्न १५ दिनको समय दिएर समिति गठन गरिएको थियो ।
सभामुख कृष्णबहादुर महराले गाडी खरिदमा ठूलो प्रक्रियागत कमजोरी नदेखिएको बताउनु भयो । उहाँले केहिी प्राविधिक कमजोरी देखिएकाले अब आफै अध्ययन गर्ने बताउनुभयो ।