नेपालगन्ज, १६ भदाै। प्रहरीकाे गाेली लागेर एक जना घाइते भएका छन् । चोरी डकैती मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका बाँकेको बैजनाथ–४ बानियाभारका नरेन्द्र न्यौपाने घाइते भएका हुन् ।
पक्राउ परिसकेको अवस्थामा उनी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले बताएको छ। गोली लागेका उनी घाइते छन्। सोमबार दिउँसो तीन बजेतिर भारतबाट नेपाल आउँदै गरेको सूचनाको आधारमा न्यौपानेलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले नियन्त्रणमा लिएको हो।
इप्रका प्रमुख डीएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले पक्राउ गरी मोटरसाइकलमा ल्याउँदै गर्दा चलिरहेको मोटरसाइकलबाट भाग्ने क्रममा गोली प्रहार गर्नुपरेको इप्रकाले जनाएको छ।
डीएसपी शाहीले भने, ‘नेपालगन्ज २० राँझा चोकभन्दा उत्तरतिर केही पर पुगेपछि मोटरसाइकलबाट भाग्नै लाग्दा इन्काउन्टर गरेका हौं।’ बायाँ खुट्टामा गोली लागेका न्यौपानको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
साबिक बेलुवा गाविस–७ (बाँसगढी नगरपालिका–१) देउरालीमा यूएनको गाडी लुटपाट गरेको कसुरमा न्यौपानेसहितलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद २७ हजार ९०० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।